धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् ।

उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द्रीत छन् । उनीहरुको मिशन फागुन १० गते पुरा हुन्छ । फागुन १० गते हजारौंलाई सुरक्षित दौडाउने उनीहरुको एक मात्र मिशन हो । त्यो मिशनको नाम हो, प्रभु बैंक धरान १० के ८ औं नेवा च्यारिटी रन । यी युवाहरु हुन्, धरान रनको प्रमुख स्वयमसेवक टिम ।

विगत ८ बर्षदेखि धरानमा हरेक बर्ष च्यारिटी रन आयोजना हुदै आएको छ । धरान रनको आयोजनामा हुने यो दौड नेपालकै सर्वाधिक सहभागीता हुने मध्येको एक हो । यहाँ राजधानीदेखि कर्णालीसम्मका धावकधाविकाहरु सहभागी हुन आउछन् । झन् यसपाली भारत, वंगलादेशबाट पनि सहभागीहरु आउदैछन् । त्यसैले यो दौडलाई सुरक्षित, सभ्य र भव्य बनाउने जिम्मा धरान रनको टिमलाई छ ।

तीन महिनादेखि तयारी, ९० प्रतिशत काम पुरा

dharan-run3

धरान रनका अध्यक्ष रमु राईका अनुसार प्रतियोगिताको तयारी लगभग ९० प्रतिशत पुरा भएको छ । अहिले सहभागीहरुलाई आयोजकको तर्फबाट दिइने टि सर्ट धमाधम वितरण गर्ने काम भइरहेको छ । धरान रनको आफ्नै सय जना सक्रिय सदस्य स्वयमसेवक(कि भोलेन्टियर्स)हरु छन् । उनीहरु हरेक साता शनिबार हुने धरान रनमा पनि हुन्छन् । तिनै सदस्यहरु विगत तीन महिनादेखि १० के रन, नेवा च्यारिटीको तयारीमा जुटेका छन् । ‘हामी बिहानै ६ बजे आएदेखि आआफ्नो जिम्माको काममा जुट्छौं, राती १०, ११ नै बज्छ,’अध्यक्ष राईले भने ।

तयारीमा जुटेका सक्रिय सदस्यहरुलाई विभिन्न समितिहरु बनाएर स्टेज, मेडिकल, सुरक्षा, फिनिसिङ लाइन, अतिथिहरुको व्यवस्थापन, रेस्क्यु लगायतको जिम्मा दिइएको छ । कोही फारम भरेकाहरुको इन्ट्रीमा ब्यस्त छन् भने कोही टि सर्ट बाँड्न, कोही रनर र अतिथिहरुलाई बस्ने होटल, लजको व्यवस्थापनमा जुटेका छन् । उल्लेखनीय पक्ष के छ भने यसरी खटिने सबै जसो युवा र किसोरकिसोरीहरु छन् । रनको तयारीमा सक्रिय सदस्यहरुबाहेक पनि थप ४ सय जना जोडिएका छन् । उनीहरु मेडिकल टिम, सेक्युरिटी टिम, संघसंस्थाहरुमा आवद्ध हुन् । ‘कोही खाना घरमै खाएर आउछन्, धेरै जसो रेष्टुरेष्टमा खाजा खाएर नै हिड्छौं,’अध्यक्ष राईले भने ।

सुरक्षित दौडाउनु प्रमुख चुनौती

dharan-run6

गत बर्ष १० के रनमा विभिन्न उमेर समुहका ३५ सय मानिसहरु दौडिएका थिए । यो बर्ष कम्तीमा पनि ४ हजार संख्या पुग्ने निश्चित भइसक्यो । यो दौडमा व्यवसायिक खेलाडीहरुदेखि ६० बर्ष माथिका सुपर भेट्रान र १२ बर्ष मुनिका साना बालबालिकाहरु पनि सहभागी हुन्छन् । त्यसैले उनीहरुलाई सुरक्षितरुपमा दौडाउनु आयोजकको लागि प्रमुख चुनौती हुन्छ । च्यारिटी अभियान भएकोले हरेक बर्ष निरन्तरता दिनु पनि चुनौती छ । ‘हामीलाई सबैभन्दा ठुलो चुनैती भनेको रनरहरुको सेफटी हो, कसरी १० किलोमिटर सुरक्षितरुपमा दौड पुरा गराउने भन्ने हाम्रो लागि च्यालेन्ज नै हुन्छ,’ अध्यक्ष राईले भने,‘दोस्रो चुनौतीमा फेयर(निष्पक्ष)रुपमा नतिजा निकाल्नु पनि हो, आजसम्म हामीले यी चुनौतीहरुलाई सफलतापुवर्क पार गरेका छौं, यसपाली पनि गछौं ।’

बचत रकम बालबालिकाको शिक्षामा लगानी

dharan-run7

१० के रनको नारा नै शिक्षाको लागि दौड भन्ने छ । आयोजकले नेवा एजुकेशन फण्ड स्थापना गरेको छ । जसमा हरेक बर्ष १० के रनमा खर्च भएपछि वचत भएको रकम जम्मा गरिन्छ । यो फण्ड(कोष)को ब्याजले निम्न आर्थिक अवस्थाका बालबालिकाहरुको शिक्षामा सहयोग भइरहेको छ ।

धरान रनले अहिले यही फण्डबाट २४ जना विद्यार्थीहरु पढाई रहेको छ । ती विद्यार्थीहरु विभिन्न सामुदायिक विद्यालयमा पढ्छन् । उनीहरुको स्कुल ड्रेस, पुस्तक, कपीकलमलगायत फण्डमार्फत नै उपलब्ध हुन्छ । बर्षमा २ जोर कपडा दिइने गरिएको छ । कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुलाई सहयोग भइरहेको अध्यक्ष राईले जानकारी दिए । यो नेवा एजुकेशन फण्डमा अहिले ११ लाख ८२ हजार रकम बचत छ । यही रकमको ब्याजबाट ती विद्यार्थीहरुको पढाई खर्च धरान रनले व्यवहोरिरहेको छ ।

पार्क रनको अवधारणा

dharan-run8

वृहत च्यारिटी दौड अघि प्रत्येक शनिबार बिहान धरान ८ स्थित यलम्बर पार्कबाट ३.५ किलोमिटर दौड शुरु भएको थियो । उक्त दौडलाई धरा रन नाम दिइएको छ । यसको शुरुवात धरान रन संस्थाका संस्थापक सन्तोष राईले गरेका हुन् । मानिसहरु रोग लागेर उपचार गर्न जानुभन्दा रोग लाग्नै नदिन सक्रिय जीवनको लागि हरेक शनिबार दौडनुपर्छ भन्ने अवधारणा अनुसार उनले शुरुवात गरेका थिए । धरान रन गत साता ४५७ हप्ता पुगिसकेको छ ।

उनले धरान रन बेलायतको पार्क रनको अवधारणालाई धरानमा कार्यान्वयन गरेका हुन् । उनी बेलायतमा नै रहन्छन् । नेवा उनको छोरीको नाम हो । उनले छोरीको नाममा नेवा च्यारिटी पनि शुरुवात गरेका हुन् । प्रत्येक साताको धरान रन र १० के रन सञ्चालनमा उनको योगदान छ । उनले विश्वको प्रमुख म्याराथनहरुमा दौड पुरा गरिसकेका छन् । 

श्रृंखला खतिवडा आउने, प्लाष्टिक न्युनीकरणमा जोड

यसपालीको १० के रनमा प्रमुख आकर्षण मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा पनि हुनेछिन् । उनी दौडमा पनि सहभागी हुनेछिन् । यस्तै, यसपाली प्लािष्टक न्युनीकरणको सन्देश दिदै १० के रनमा आयोजकले सकेसम्म प्लाष्टिक प्रयोग नगर्ने अध्यक्ष राईले बताए । ‘प्रयोग नगरी नहुने कुरालाई नकार्न सकिन्न, सकेसम्म प्लाष्टिकजन्य कुराहरु प्रयोग नगर्ने भएका छौं,’उनले भने ।

dharan-run2 dharan-run4