धरान: धरानको वडा नं १६ मा अन्न्पुर्ण चोक छ । यो चोक र आसपासका युवाहरु मिलेर अन्नपुर्ण युवा क्लब गठन गरेका छन् । सामाजिक कार्यहरु पनि गर्दै आइरहेको यो क्लबले हरेक बर्ष सांगीतिक कार्यक्रम पनि आयोजना गर्छ ।

अन्नपुर्ण साँझ नाम दिइएको सांगीतिक कार्यक्रम विगत १८ बर्षदेखि हुदै आएको छ । यसपाली पनि फागुन १३ गते १८ औं अन्नपुर्ण साँझ कार्यक्रम हुदैछ । यसपटक जनपथ जागरण समाज आयोजक छ भने अन्नपुर्ण युवा क्लव संयोजक छ । अन्नपुर्ण चोकमा हुने साँझमा राष्ट्रिय कलाकार शिव लामिछानेको सांगीतिक प्रस्तुती हुनेछ क्लबका अध्यक्ष किरण बराइलीले बताए । कार्यक्रममा गायक लामिछानेसँगै धरानको वल्किङ्ग क्लाउड व्याण्ड, इलुमिनेट व्याण्ड र फन्क फ्युजन डान्स सेन्टरको पनि प्रस्तुती हुने उनले बताए ।

अन्नपुर्ण साँझ विगतमा तिहारको बेला आयोजना हुने गथ्र्यो । यसपटक भने नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर पनि आयोजना गरिएको आयोजकले जनाएको छ । यो कार्यक्रममार्फत आफ्नो वडालाई चिनाउने पनि उद्देश्य राखिएको उपाध्यक्ष गौतम खालिंगले बताए । उनका अनुसार धरान वाड नं १६ मा हारतिमाताको मन्दिर, सियोन चर्ज, कृष्ण मन्दिर, शैक्षिकसंस्थाहरुमा नास्ट साइन्स कलेज, युएन होटल म्यानेजमेन्ट कलेज, सिदार्थ स्कुल रहेको छ । यस्तै, धरान रंगशाला, पर्यटकीय केन्द्र बनेको झोलुङ्गे पुल पनि छ । यी सबैलाई समेटेर डकुमेन्ट्री तयार गरेर सामाजिक संजाल मार्फत प्रचार गरिनेछ भने कार्यक्रमको दिन एलइडि मार्फत प्रदर्शन पनि गरिने भएको छ ।

कार्यक्रमको मुख्य प्रायोजक शिवानी एयरलायन्स रहेको छ भने सह प्रायोजकमा मेगामार्ट हार्डवेयर एण्ड सप्लायर्स रहेको छ । कार्यक्रमको अघिल्लो दिन फागुन १२ गते रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछ । सांगीतिक कार्यक्रम धरानका स्थानीय कलाकारहरुको कला प्रतिभा प्रस्तुत गर्ने अवसर भएको आयोजकको दाबी छ । यही कार्यक्रमबाट खारिएर सविन राई र शिव लामिछाने राष्ट्रिय कलाकार भएको आयोजकको भनाई छ ।