धरान: नेपाल सरकारद्धारा वृद्धि गरिएको २० प्रतिशत तलब वृद्धिलगायत विभिन्न ५ बुँदे मागबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालबीच सहमति भएको छ ।

प्रतिष्ठानमा हिजो आइतबार भएको द्धिपक्षीय छलफलबाट मौखिक सहमति भएको सम्पुर्ण(नर्सिङ, प्राविधिक तथा प्रशासनिक) कर्मचारी समन्वय समितिले जनाएको छ । समितिका संयोजक महेश्वर राईद्धारा जारी विज्ञप्तीमा तलब वृद्धिको अजेण्डामा तलब वृद्धि दर निर्धारण गर्न सर्वपक्षीय एक विज्ञ समिति गठन गर्ने सहमति भएको छ । यस्तै, केही पदहरुमा मात्र हालै भएको तलवमान वृद्धिको निर्णय तत्काल स्थगित गर्ने पनि सहमति भएको छ । प्रतिष्ठानका दुई इञ्जिनियरको मात्र हालै तलवमान वृद्धि गरिएको थियो ।‘कार्यवाहक उपकुलपति ज्यूसँग हाम्रो मागहरुको बिषयमा छलफल भयो, र तलब वृद्धि दर निर्धारण गर्न विज्ञ समिति गठन गर्ने सहमति भएको छ,’संयोजक राईले भने ।

यसैगरि, ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार छनौट समितिलाई औपचारिकरुपमा गठन गरेर नियुक्ती, आन्तरिक बढुवा तथा फाइल बढुवाको विज्ञापन प्रकाशन गर्ने सहमति भएको पनि विज्ञप्तीमा उल्लेख छ । साथै ज्यालादारी, करार तथा परफरमेन्स करारमा कार्यरत कर्मचारीहरुको बिषयमा दिक्षान्त समारोह पश्चात आवश्यक कारबाही प्रक्रिया अघि बढाउने कार्यवाहक उपकुलपति डा.खनालले वचतवद्धता प्रकट गरेको पनि विज्ञप्तीमा खुलाइएको छ । छलफलमा संयोजक राईसँगै सुपरभाइजर कमल रायमाझी र शाखा अधिकृत उमेश थापा पनि सहभागी थिए ।