धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सक तथा कर्मचारीहरुको तलब वृद्धि दर निर्धारण गर्न पाँच सदस्यी कार्यदल गठन भएको छ ।

प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र सम्पुर्ण कर्मचारी समन्वय समितिसँग भएको सहमति वमोजिम कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले कार्यदल गठन गरेका हुन् । उनले प्रतिष्ठानका एनेस्थेसिया विभागका प्रा.डा.विरेन्द्र साहको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिए । ‘सिनेटले कति सक्छौं, वृद्धि भएको तलब खुवाउ भनेर निर्णय गरेकोछ । हामीले कति खुवाउन सकिन्छ भनेर वास्तविक अवस्था बुझेर रिपोर्ट दिन कार्यदल बनेको हो,’कार्यवाहक उपकुलपति डा.खनालले भने ।

डा.साह संयोजक रहेको कार्यदलमा फाइनान्सबाट विज्ञकोरुपमा कमल रायमाझी र मोहन राई रहेका छन् भने चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोख्रेल र कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राई पनि सदस्य छन् । समितिलाई एक साताभित्र रिपोर्ट बुझाउन समय दिइएको छ । कार्यदलले रिपोर्ट दिएपछि कार्यकारिणी समिति बैठक बसेर रिपोर्टको आधारमा निर्णय हुनेछ । कार्यदलले ४३ औं सिनेटको निर्णयअनुसार २० प्रतिशत तलब वृद्धिभित्र रहेर आन्तरिक स्रोतहरुको पहिचान गरेर रिपोर्ट बुझाउन एक सदस्यले बताए ।