धरान: पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा फागुन १८ गतेदेखी गायन र सुन्दरी प्रतियोगिता सुरु गर्ने भएको छ ।
८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन फागुन १८ गतेदेखी सुरु गर्ने भएको हो । बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक भक्तिराज राईले प्रतियोगिताको पहिलो अडिसन फागुन १८ गते ओखलढुंगाबाट सुरु गरिने बताए । उनले प्रदेश १ को सबै जिल्लामा पुगेर अडिसन लिइने बताए । ‘प्रदेश १ का सबै जिल्ला पुगेरै अडिसन लिन्छौं,’उनले भने,‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’
उनका अनुसार गायनमा अन्तिम फाइनलका लागि १० जना र सुन्दरी प्रतियोगितामा अडिसनबाट ३० जनालाई छनौट गरी बन्दसत्रमा राखिने छ । गायनमा अडिसन राउण्डदेखी विजेतासम्म ११ वटा गायन प्रस्तुत गर्ने पर्ने छ । गायन प्रतियोगितामा नेपाली गीत मात्र गाउनुपर्ने छ । मिस स्टेट वानका कोरियोग्राफर मेरिना तुम्सा लिम्बुका अनुसार मिस स्टेट प्रतियोगिताको लागि १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवतीहरुले भाग लिन पाउने छन् । प्रतियोगिताको अडिसनबाट छनौट भएका यूवतीहरुलाई उनीहरुको व्यक्तित्व विकास, क्षमता विकासका सैद्धान्तिक तथा व्याहारिक ज्ञान प्रदान गर्नुका साथै धरानका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने लिम्बुको भनाई छ ।
गायन विजेताले ५० हजार, मिस स्टेटले स्कुटर पाउने
गायनतर्फको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड र एक म्यूजिक भिडियो तयार गर्ने अवसर पाउनेछन् । यस्तै, एक बर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरि, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत सिक्ने अवसर पाउनेछ भने एउटा गितार पनि पाउनेछन् । विद्यागत पुरस्कारतर्फ बेष्ट भोकल, बेष्ट डिस्प्लिन, बेष्ट परफमेन्स र बेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
यस्तै, मिस स्टेट १ विजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्ने छन् । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमसः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, बेष्ट स्माइल, बेष्ट फिगर, बेष्ट क्याटवाक, मिस चार्मिङ, मिस एसएमएस भोटिङ, मिस फोटोजेनिक र मिस एक्टीभ अवार्ड समेत प्रदान गरिने छ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले ०७० सालदेखि निरन्तर गायन प्रतियोगीता आयोजना गदै आएको छ भने सुन्दरी प्रतियोगीता ०७४ सालदेखी शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङबाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलनबाबु लिम्बु (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदम बहादुर मगर (२०७५) र गत वर्ष मोरङका सुमिन राई रहेका छन् । यस्तै, मिस स्टेट १ मा उदयपुरकी रमिला बस्नेत (२०१८), गत वर्ष धरानकी रजनी तुम्सा लिम्बु विजेता बनेकी थिइन् । लुकेर रहेको प्रतिभालाई उजार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको संयोजक राईको भनाई छ ।