धरान: धरानको पब्लिक स्कुलको मैदानमा जारी औद्योगिक व्यापार मेलामा आज शुक्रबार चर्चित गायक राजेश पायल राईको बिशेष प्रस्तुति रहनेछ।

साँझ हुने सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमको प्रमुख आर्कषण गायक राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । उनको पछिल्लो गीत हुरुक्कै भए म र मैले मायाले दिएको चिनो..बोलको गीत चर्चित छन् । गायक राईले यही गीत पनि गाउनेछन् भने आफ्नो सदाबहार गीतहरु घुम्न जाउ धरान ,न्याउली रोयो, बैगुनी रैछौ मायालु, दर्शन नमस्ते, किन यति धेरै माया लाग्छ, सगर सरी चोखो माया लगायत आफ्ना फ्यानहरुको अनुरोधमा गीत गाउनेछन् ।

खोटांगमा जन्मे पनि गायक राई धरानकै सांगीतिक माहोलबाट आफुले धेरै माया पाएको र धरान भनेपछि तुरुन्तै आइहाल्न मन लाग्ने राजेश पायल बताउँछन् । धरानको स्थानीय तथा धरानको सागीतिक परिवेशसंग नजिक कलाकारहरुलाई प्राथमिकतामा पारेर दिपक लिम्बु, राजेश पायल राई, शिव लामिछाने, गंगा बरदान, डिल्ली फोम्बोलगायतका कलाकारहरुलाई मेलामा समेटिएको औद्योगिक मेलाको मूलसंयोजक शिवराज श्रेष्ठले बताए ।