धरान: लोकेन साँवाले निर्देशन गरेको ‘के: साङ्ला’को सोमबार धरानमा विशेष प्रदर्शनी भएको छ ।

लिम्बु जातिको संस्कृतिमा आधारित यो फिल्मले लिम्बु युवायुवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने चलनलाई प्रस्तुत गरेको छ । धरान ८ स्थित गोर्खा सिने प्लेक्समा भएको प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाङ्फे, निर्देशक साँवालगायत उपस्थित थिए । चोक्फुङ इन्टरटेमेन्ट प्रालिको ब्यानरमा बनेको के: साङ्ला यसअघि नै हङकङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौं र पाँचथरमा प्रदर्शन भईसकेको छ ।

के: साङ्लालाई मायाको प्रतिकका रुपमा फिल्मले प्रस्तुत गरेको छ । यो फिल्म सोमबार तेह्रथुमे धरान तुम्बाहाङ्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा प्रर्दशन भएको थियो । फिल्ममा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाङ्फे, महिमा लिम्बू, तुलसा लिम्बू लगायतको अभिनय रहेको छ ।

kesang-show1

फिल्ममा सिनेम्याटोग्राफर भुपेन्द्र तुम्बाहाङ्फेको पनि अभिनय छ । अशोक लोहोरुङ राइको पाश्र्व सङ्गीत रहेको छ भने दिनेश माङ्मु मुख्य सहायक निर्देशक र कोरियोग्राफी मनु नेम्बाङ, यासेली योङ्हाङ, श्रेयसी चेम्जोङको स्वर रहेको छ । यो फिल्मको निर्माण फिफरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पङ्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जयकुमार तुम्बाहाङ्फेले गरेका हुन् ।
फिल्मको कथा पनि निर्देशक साँवाकै हो भने सम्पादन विपिन मल्लले गरेका हुन् । कलाकार प्रेम सुब्बाले फिल्मले लिम्बु समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिबारे सचेत गराउने प्रतिक्रिया दिए । लिम्बु समुदायको संस्कार, संस्कृतिबारे युवापुस्तालाई सचेत गराउने तथा अन्य समुदायलाई जानकारी दिने उद्देश्यले के: साङ्लाको विशेष प्रदर्शनी गरिएको संयोजक मिना सिङ्गकले बताईन् ।