धरान: धरानमा भोलीदेखि औषधी पसलबाहेक केही पनि खोल्न नदिइने भएको छ ।

आज उपमहानगरपालिकामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको र संक्रमणको आशंका भएका व्यक्तिहरु उपचारमा आउदा जोखिम हुने भएकोले सबैलाई घरभित्रै रहने गरि यस्तो निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार तरकारी, खाद्यान्न, मासुपसल पनि खोल्न दिइनेछैन । ‘एक सातासम्मलाई सबैले घरमा स्टक गरेको छ भन्ने निष्कर्ष भएकोले यो निर्णय गरिएको हो, त्यो बीचमा आवश्यक पर्यो भने उद्योग वाणिज्य संघ, नगरपालिका सबै मिलेर डेलिभरिको व्यवस्था मिलाउछौं,’मेयर राईले भने ।

यो बन्द अरु बेला जस्तो नभएको र महाहारीविरुद्धको भएकोले सबैले संवेदनशीलता बुझिदिन पनि उनले आग्रह गरे । तरकारी बेच्दा पनि कसैलाई संक्रमण भएको छ भने सर्ने जोखिम भएकोले सबै बन्द गर्नुपरेको उनले बताए । उपमहागनरमा मेयर राई, उपमेयर मञ्जु भण्डारी, प्रहरी, इलाका प्रशासन, उद्योग वाणिज्य संघ, कृषि उपज बजारस्थललगायतको बैठकले यस्तो निर्णय गरेको हो ।