धरान: आजदेखि सर्वसाधारणहरु एक सातासम्म घरबाहिर निस्कन पाइने छैन । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले हिजो सोमबार देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।

सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्म लकडाउनको निर्णय गरेको हो । फ्रान्सबाट कतार हुदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले यस्तो निर्णय लिएको हो । हिजो स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर एक युवतीमा कोरोना पोजेटिभ देखिएको र उनी उपचारमा रहेको जानकारी दिएको थियो ।

लकडाउनको यो निर्णय खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने साधनमा भने लागु हुने छैन । त्यसबाहेक अरु सवारी साधनहरु भने पुर्णरुपमा बन्द हुनेछ । सरकारले अत्यावश्यक कामका लागि बाहिर निस्किन नपाउनेदेखि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

#औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

#अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

#सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

#स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवा बोहक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बनिधत कार्यालय प्रमुखले बिदा दिने