धरान: लकडाउनले दैनिक गुजारा गर्न समस्या भइरहेका विपन्न परिवारलाई धरान उपमहानगरपालिकाले राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।
आज उपमहानगरपालिकामा बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यसको लागि प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई अतिविपन्न परिवारको लगत संकलन गर्न परिचालन गर्ने पनि बैठकले निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । ‘जसको परिवारलाई लकडाउनले गर्दा छाक टार्न समस्या छ, त्यस्ता परिवारको लगत लिने र अनुगमन गरेर वितरण गर्ने निर्णय भएको छ,’उपमेयर भण्डारीले भनिन् ।
सोही वैठकले धरानका सम्पुर्ण जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा विपद् कोषमा दिने निर्णय पनि गरेको छ । धरानमा १०५ जना जनप्रतिनिधिहरु छन् । सबैको १५ दिनको सेवासुविधा कोषमा उपलब्ध गराउने निर्णय बैठकले गरेको हो । ‘लकडाउन लम्बिदै गयो भने पछि थप निर्णय हुन्छ, अहिलेलाई चै १५ दिनको दिने निर्णय भएको हो,’उपमेयर भण्डारीले भनिन् । राहत कोषमा हाल ५० लाख रुपैया छ ।