धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि सबैभन्दा प्रभावित निम्न आर्थिक अवस्थाका परिवारहरु भएका छन् ।

दैनिक मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारहरु अहिले काम नपाएर बिहान बेलुकी हातमुख जोड्न नपाउने अवस्थामा पुगेका छन् । आफ्ना वडाका विपन्न परिवारहरु भोकभोकै बस्नुपर्ने अवस्था आएपछि धरानका वडाका जनप्रतिनिधिहरु विपन्न परिवारलाई राहत उपलब्ध गराउन अग्रसर भएका छन् । केही वडाहरुले विपन्न परिवारलाई राहत वितरण गरिसकेका छन् भने केही वडाले विपन्न परिवारको लगत संकलन गरिरहेको छ । केही वडाका जनप्रतिनिधिहरुले आफ्नो एक महिनाको सेवासुविधा विपन्न परिवारलाई राहत उपलब्ध गराउन दिने घोषणा पनि गरिसकेका छन् ।

bipanna-wada-5

धरानको वडा न. ५ का अध्यक्ष सन्तोष लिम्बुले शुक्रबार आफ्नै खर्चबाट वडाका ४६ विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । उनले प्रत्येक परिवारलाई २५ केजी चामलको एक बोरा, २ केजी दाल, १ केजी नुन र १ लिटर खानेतेल उपलब्ध गराएका हुन् । आफ्नो वडाका मजदुरी गरेर जिविको चलाइरहेका परिवार भोकै बस्नुपर्ने भएपछि आफ्नै खर्चमा खाद्यान्न उपलब्ध गराएको वडाध्यक्ष सन्तोष लिम्बुले जानकारी दिए ।

सेवा सुविधा विपन्नलाई राहत दिने घोषणा

धरानको वडा नं १४ का जनप्रतिनिधिहरुले दुई चरणमा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराइसकेको छ भने उनीहरुले एक महिनाको सेवा सुविधा विपन्न परिवारलाई राहतको लागि दिने घोषणा पनि गरेका छन् ।

bipanna-14

वडाअध्यक्ष कृष्णप्रसाद भटराई, सदस्यहरु मञ्जिल कसजु, शेभा पुलामी राई, मनिषा बिक र जिल्ला समन्वय सदसय सीता पौडेलले आफ्नो सेवा सुविधा विपन्नको लागि दिएका हुन् । उनीहरुलाई साथ दिदै वडाका विभिन्न व्यक्तिहरुले पनि आर्थिक सहयोग दिएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए । शुक्रबार वडाबासीसँगै पिण्डेश्वर विद्यापिठमा लकडाउनको कारण घर जान नपाएका २५ जना विद्यार्थीहरुलाई पनि वडा १४ ले खाद्यान्न वितरण गरेको थियो ।

वडा ७ मा समिति गठन गर्ने तयारी

wada-7

वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले पनि अहिलेसम्म ५ जना विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । आफ्नै खर्चमा खाद्यान्न दिएको उनले बताए । अब भने विपन्न परिवारलाई राहतको लागि एउटा समिति गठन गरेर अघि बढ्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले बताए । ‘अहिलेसम्म मैले व्यक्तिगत खर्चमा दिएको छुँ, अब समिति नै गठन गर्ने योजनामा छौं,’उनले भने ।

विपन्नको लगत संकलन गर्दै वडा १६

धरानको वडा नं १६ ले पनि आफ्नो वडाको विपन्न परिवारहरुको लगत संकलन गरिरहेको जनाएको छ । लकडाउनले विपन्न परिवारलाई छाक टार्न गाह्रो भएपछि आफ्नो वडामा भएका विपन्न परिवारको लगत संकलन भइरहेको वडाअध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘आजसम्म १३ परिवार अति नै विपन्न भेटिएको छ । ती परिवारमा वृद्धवृद्धा मात्र छन्, एक जना विरामी र अर्कोले कमाएर ल्याउनुपर्ने तर अहिले काम नभएर विजोग अवस्था रहेछ,’वडाअध्यक्ष गिरीले भने,‘आजसम्म खोजी गरिसकेर खाद्यान्न उपलब्ध गराउछौं ।’ उनले थोरै परिवार भएमा आफ्नो र वडासदस्य दिपक आचार्यको व्यक्तिगत खर्चले नै राहत दिलाउने बताए भने धेरै परिवार भेटिएमा आफुहरुको खर्चसँगै विपद कोषबाट पनि उपलब्ध गराउने बताए ।