धरान: कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणहरु घरभित्रै छन् ।

धरानको वीपी प्रतिष्ठानमा सबैतिरका विरामीहरु उपचारमा आउने र संक्रमणको जोखिम बढी भएकोले औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न दिइएको छैन । यही मौकामा सागसब्जी तथा हरियो तरकारीमा खुद्रा व्यापारीहरुले कालाबजारी गरिरहेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । धरान १३ स्थित कृषि उपज बजारस्थलमा विगतमा जस्तै तरकारी आयातमा कुनै रोकावट नभएकोले पर्याप्त छ । तर, खुद्रा व्यापारीहरुले भने लकडाउनको मौकामा तरकारी अभाव भन्दै जथाभावी मुल्य लिइरहेका छन् ।

‘कृषि बजारमा २५, ३० मा लिएको एक मुठा सागलाई तल २ मुठा बनाएर एउटाको ५० रुपैयामा बेचिरहेको छ, लकडाउनको मौकामा ब्रह्मलुट भइरहेको छ । उपमहानगरपालिका र प्रत्येक वडाका जनप्रतिनिधिहरुले आफ्नो वडाको तरकारी बजार, पसलको अनुगमन गर्ने बेला भयो,’धरान १४ निवासी प्रेमप्रसाद पराजुलीले भने ।

धरान १३ स्थित थोक कृषि बजारमा आलु प्रतिकिलो ४० देखि ४५ रुपैया मुल्य थियो । तर, बजारमा त्यही आलु उपभोक्ताले प्रतिकिलो कम्तीमा ६० रुपैयामा किन्नु परिरहेको छ । कृषि बजारमा प्याजको मुल्य प्रतिकिलो ४५, मुला प्रतिकिलो १५, फुलकोपी प्रतिकिलो ३५ देखि ४० र टमटर प्रतिकिलो ३५ देखि ४० रुपैया छ भने साग प्रतिमुठा २५ देखि ३० रुपैया मात्र छ । तर, त्यही तरकारीहर खुद्रा बजारमा भने दोब्बर मुल्यमा उपभोक्ताहरुले तिर्नुपरिरहेको छ ।

कृषि बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कटुवाल भने विगतमा जस्तै तरकारीहरु पहाड र तराई क्षेत्रबाट आइरहेकोले थोक बजारमा भाउ अचाक्ली वृद्धि नभएको बताउँछन् । ‘तरकारी पर्याप्त आइरहेकै छ, यहाँ थोक बजारमा विगतमा जस्तै भाउ सामान्य नै छ,’अध्यक्ष कटवालले भने,‘तर खुद्रा बजारमा समस्या छ । लकडाउनको मौकामा भनेर बढी लिएको हुनसक्छ । अनुगमन हुनुपर्छ ।’ उनका अनुसार तरकारी लिन जाने गाडीहरुलाई कृषि बजार र १३ नम्बर वडा कार्यालयले सिफारिश पत्र बनाइदिने गरेकोछ । त्यही पत्रको आधारमा अहिले पनि पर्याप्त मात्रामा तरकारीहरु आइरहेको उनले बताए ।

धरान उपमहानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीले बिशेष गरी तरकारीमा मुल्य धेरै भएको उपभोक्ताहरुको जनगुनासो आएकोले अनुगमन गर्ने तयारी भइरहेको बताइन् । अहिले फाइदा लिने भन्दा पनि संकटको बेलामा सहजरुपमा राहत दिलाउने समय भएकोले व्यापारीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताइन् । ‘१५, २० प्रतिसत नाफा लिनु त ठिकै हो, तर अत्यधिक लिएको पाइएमा ऐन अनुसार कारबाही हुन्छ,’उनले भनिन् ।