धरानः लकडाउनको मौकामा खुद्रा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मुल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आज बिहान आकस्मिक अनुगमन गरेकी छिन् ।

अनुगमनमा पुगेपछि तरकारीको मुल्य हिजोको भन्दा धेरै घटेको छ । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीले धरान ३ स्थित पालिका बजारमा आकस्मिक अनुगमन गरेकी थिइन् । त्यसपछि धरान १३ स्थित कृषि उपज बजारस्थलमा त्यहाँका पदाधिकारीहरुसँग आवश्यक छलफल पनि गरिन् । ‘हिजो जस्तो भाउ आकासिएको अवस्था छैन, तरकारी पनि पर्याप्त आपूर्ति भइरहेको रहेछ,’उनले भनिन्,‘अनुगमनलाई निरन्तरता दिन्छौं ।’

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले सामान्य अवस्थामा जस्तै अहिले लकडाउनमा पनि तरकारीहरु आइरहेकोले उपभोक्तालाई महंगी खेप्नुपर्ने अवस्था नभएको बताउँछन् । थोक बजारमा आज साग प्रतिमुठा १० देखि २० रुपैया, बन्दा प्रतिकेजी १० रुपैया, मुला १३ रुपैया, मटरकोसा २५ देखि ३० रुपैया, आलु र टमटर ३५ देखि ४० रुपैया प्रतिकिलोमा बिक्री भइरहेको उनले जानकारी दिए । ‘खुद्रा व्यापारीहरुले भाउ बढाएर समस्या हो, त्यो बारेमा पनि हामी लागिपरेका छौं,’उनले भने ।

वडा १३ ले होम डेलिभरी गर्दै

tarkari1

होम डेलिभरी गर्न तरकारी प्याक गर्दै वडा १३ को टोली ।

आफ्ना वडाका नागरिकहरुलाई १३ नम्बर वडा कार्यालयले होम डेलिभरी सेवा दिएको छ । वडा कार्यालयले कृषि बजार व्यवस्थापन समितिसँग समन्वय गरेर तरकारी होम डेलिभरी गरेको हो । वडा कार्यालयका अनुसार प्याज, आलु,टमटर, सागलगायत आवश्यक तरकारीहरु घरघरमा पुर्याएको हो ।

कृषि बजारमा उपलब्ध ती तरकारीहरु ढुवानी खर्च जोडेर मात्र ५ देखि १० रुपैया थप लिएर होम डेलिभरी गराएको वडा कार्यालयले जनाएको छ । वडाबासीहरु घरबाहिर निस्कन नपरोस् भनेर यो सेवा दिइएको वडा अध्यक्ष नेत्र काप्mलेले जानकारी दिए । आवश्यक पर्ने घरमा दाल, चामल, नुन, तेललगायत खाद्यान्नहरु पनि घरमै उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।