धरान: आफ्ना वडाका नागरिकहरुलाई कसरी सहजरुपमा तरकारी एवं सब्जी वितरण गर्ने भनेर आज बिहान धरान १३ स्थित कृषि बजारमा वडाअध्यक्षहरुको बैठक बस्यो ।

मेयर, उपमेयरसहितको उक्त बैठकले भोली बुधबारदेखि वडाअध्यक्षहरुले नै आफ्नो वडामा तरकारी वितरणको जिम्मा लिने निर्णय पनि गरेको छ । हिजोदेखि वडामा कृषि बजारको गाडीले तरकारी वितरण शुरु गरेपनि कतिपय वडामा जनप्रतिनिधिहरुले समन्वय नगरिदिदा सबै उपभोक्ताहरुले खरीद गर्न पाएका थिएनन् । उपभोक्ताहरुको गुनासो आएपछि आज बिहानै वडाअध्यक्षहरुसहित बैठक बसेर तरकारी वितरणलाई सहज बनाउने उपाय खोजिएको हो ।

कृषि बजारका अनुसार आज दोस्रो दिन पहिलो दिन(हिजो)कै मोडलमा तरकारी वितरण हुनेछ । त्यसको लागि वडाहरुमा तरकारी लिएर गाडी गइसकेको छ । कतिपय वडाका अध्यक्षहरु आफैले गाडी जिम्मा लिएर आज पनि गएका छन् । भोलीदेखि भने वडाअध्यक्षहरुको नेतृत्वमा नै विभिन्न ५ देखि १० ठाउँमा समय मिलाएर तरकारी वितरणको व्यवस्था मिलाइने भएको छ । ‘आज हिजोकै मोडलमा वितरण हुन्छ, तर भोलीदेखि वडाअध्यक्ष ज्युहरुको नेतृत्वमा वितरण हुने भएको छ, यसले धेरै सहज र व्यवस्थित हुन्छ भन्ने आशा गरेका छौं,’कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ।

tarkari-wada-13

धरान वडा नं १३ का अध्यक्षसहितको टोलीले व्यवस्थितरुपमा तरकारी विरतण गर्दै ।

कृषि बजारमा सञ्चालक समिति अध्यक्ष पर्शुराम कटवालका अनुसार तरकारी पर्याप्त भएपनि लकडाउनले गाडी नभएर पनि सबैतिर पुर्याउन गाह्रो भएको छ । यही समस्या हल गर्न वडाअध्यक्षहरुसहितको बैठक भएको हो । उनका अनुसार अनुसार वडा नं १३, १६, १४ र १८ का वडाअध्यक्षहरुले आजै पनि आफ्नै नेतृत्वमा तरकारी लिएर गएका छन् । गाडीका कर्मचारीहरुलाई वडाको सबै रुट थाह नहुने भएकोले पनि वडाका जनप्रतिनिधिहरुको समन्वय अतिआवश्यक भएको हो । अब भोलीदेखि वडामा तरकारी वितरण पनि समय तोकेर गरिनेछ । धेरै भिडभाड पनि गर्न पाइनेछैन भने सामाजिक दुरी पनि कायम गर्नुपर्नेछ । आफ्ना वडाका सबै उपभोक्तालाई सहज हुने गरि ठाउँ तोकेर वडाअध्यक्षहरुले तरकारी बिक्रीवितरणको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

वडाको सिफारिशमा खुद्रा व्यापारीले तरकारी बेच्न पाउने

tarkari7

जथाभावी मुल्य लिएको र भिडभाड बढाए पछि धरानको खुद्रा तरकारी व्यापारीहरुलाई कृषि बजारले तरकारी दिन बन्द गरेको थियो भने खुद्र पसल पनि बन्द गरिएको थियो । यो निर्णयले हिजो र आज तरकारीको खुद्रा व्यापार बन्द भयो । तर, अब वडामा सहज वितरण गर्नको लागि वडा कार्यालयको सिफारिशमा हरेक वडामा तोकिएको निश्चित ठाउँमा खुद्रा व्यापारीले तरकारी बेच्न पाउने भएको छ । ‘वडाबासीहरुलाई सहज हुने गरी कुन कुन ठाउँमा खुद्रा व्यापारीलाई दिने भन्ने निर्णय हुन्छ, त्यसैअनुसार वडाको सिफारिश आएपछि यहाँ कृषि बजारबाट तरकारी दिने सहमति भएको छ,’कृषि बजारका अध्यक्ष पर्शुराम कटवालले भने,‘तरकारीको मुल्य भने नगरपालिकाले तोकिदिन्छ, त्यसअनुसार मात्र बेच्न पाउछ ।’