धरान: लकडाउनको समयमा उपभोक्ताहरुलाई घरमै हरियो तरकारी पुर्याउने अभियान पहिलो दिन प्रभावकारी बन्यो । यद्यपी, अधिकांश वडाहरुमा वडाका जनप्रतिनिधिहरुले आवश्यक समन्वय नगरिदिदा कृषि बजारले अनावश्यक झञ्झट पनि व्यवहोर्नुपरेको छ ।

कृषि बजारका अनुसार आज पहिलो दिन करिब ३० टन हाराहारीमा हरियो तरकारी एवं सब्जी धरानको २ वटा बाहेक सबै वडामा पुगेको छ । पहाडी क्षेत्रको वडा नं ४ र २० मा भने तरकारी पठाइएन । अन्य १८ वटा वडाको लागि १० वटा गाडीमा तरकारी उपभोक्ताको घरमा नै पुर्याइएको थियो । ती वडामध्ये पनि वडा नं १३ र १६ का वडाअध्यक्ष आफै गाडी लिएर कृषि बजारमा तरकारी लिन पुगेका थिए । वडा नं १३ ले २ वटा गाडीबाट दिनभर आफ्ना वडाबासीलाई तरकारी वितरण गरेको थियो भने वडा नं १६ ले पनि एउटा गाडीमा ३ पटक गरेर आफ्नो वडाबासीलाई तरकारी वितरण गरेको थियो । तरकारी लिएर गाडी पुगेपनि वडाका जनप्रतिनिधिहरुले समन्वय नगरिदिदा उपभोक्ताहरुले पाउन सकेनन् ।

tarkari-wada-16

वडा नं १६ मा तरकारी वितरण गरिदै ।

कृषि बजारका व्यवस्थापक लक्ष्मण भटराईका अनुसार वडा नं १३ र १६ मा जनप्रतिनिधि र टिम नै परिचालन भएकोले धेरै प्रभावकारीरुपमा तरकारी वितरण भयो । अन्य कतिपय वडामा भने वडाका जनप्रतिनिधिहरुले अपेक्षा अनुरुप समन्वय नगरिदिदा समस्या भएको उनले गुनासो गरे । ‘वडा १३ र १६ बाट अध्यक्ष ज्युहरु आफै गाडी लिएर तरकारी लिएर जानु भयो, अरु कतिपय वडामा सोचेजस्तो समन्वय भएन,’व्यवस्थापक भट्टराईले भने,‘कृषि बजारले ग्रेडिङ, प्याकेजिङ, तरकारी माग गर्ने र तयारी गरिदिने हो । वितरणमा पनि खटिनुपर्दा समस्या भयो ।’

पहिलो दिन कृषि बजारले १० वटा तरकारीको गाडी र श्रमिकहरु खटाएको थियो । वडाहरुमा जनप्रतिनिधिहरुले समन्वय गरेर आवश्यक टोल र वस्तीहरुमा रुट तयार गरेर वितरण सहज बनाइदिनुपर्ने उनले आग्रह गरेका छन् । ‘काम एकदम राम्रो शुरुवात भएको छ, तर वडाका जनप्रतिनिधिहरुको साथ भएन भने समस्या हुन्छ । साँझ समिक्षा गर्दा पनि यी निष्कर्ष भयो,’व्यवस्थापक भट्टराईले भने,‘कुन रुटमा जाने, कहाँनेर वितरण गर्ने भनेर सहयोग गरिदिनु पर्यो ।’

tarkari-wada-3

वडा नं ३ का जनप्रतिनिधिहरु तरकारीको गाडीसहित ।

धरानको वडा नं १३ ले हिजो आइतबारदेखि नै आफ्नो वडामा तरकारीको होम डेलिभरी शुरु गरिसकेको थियो । लकडाउनको समयमा पनि तरकारी किन्न खुद्रा पसलहरुमा भिड लाग्न थालेपछि उपमहानगरपालिका र कृषि बजारको सहकार्यमा उपभोक्तालाई घरमै तरकारी पुर्याउने निर्णय गरिएको थियो । साथै, खुद्रा तरकारी बजारलाई कृषि बजारबाट बिक्री नगर्ने, धरान भित्रिने सबै तरकारी कृषि बजारमा केन्द्रीत गर्नेलगायत निर्णय भएको थियो ।