धरान: लकडाउनले समस्यामा परेका आफ्ना वडाबासीहरुलाई सहजरुपमा तरकारी वितरणको लागि धरानको १६ नम्बर वडा कार्यालयले विभिन्न ७ ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

वडा कार्यालयका अनुसार ती ठाउँमा स्वयमसेवक परिचालन गरेर व्यवस्थितरुपमा बिक्रीवितरणको व्यवस्था मिलाइएको छ । वडा कार्यालयका अनुसार ती बिक्री केन्द्रहरुमा सहुलियत दरमा सागसब्जी वितरण हुनेछ । वडा सदस्य दिपक आचार्यका अनुसार तरकारी बिक्री केन्द्र १६ नम्बर वडा कार्यालय, समी चोक, लेखनाथ चोक र जोगीधारा चोकमा राखिएको छ । यस्तै, प्रगति मार्गस्थित सुर्य भण्डारीको घर, जोर सखुवा वडा अध्यक्षको घर छेउ र गणतन्त्र चोकमा पनि बिक्री केन्द्र सञ्चालनमा रहेको छ । अझै ३ ठाउँमा पनि बिक्री केन्द्र थपिने आचार्यले बताए । 

गाडीबाट डुलाएर तरकारी बिक्री गर्न कठिनाइ भएकोले निश्चित ७ ठाउँ तोकेर व्यवस्थितरुपमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडा सदस्य आचार्यले बताए । ‘बिक्री केन्द्रमा भिड हुदैन, स्वयमसेवक खटाएका छौं, र ५ फिटको दुरीमा उभिने व्यवस्था छ,’उनले भने । वडा कार्यालयमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्मै तरकारी बिक्री केन्द्र खुल्ला रहनेछ भने अन्य स्थानमा बिहान ७ बजेदेखि १२ बजे र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने पनि १६ नम्बर वडा कार्यालयले जनाएको छ ।
tarkari7

बिक्री केन्द्रमा कृषि बजार र उपमहानगरपालिकाले तय गरेको तरकारीको मुल्य सुची अनुसार मात्र मुल्य लिएर बिक्री गर्न पाइनेछ । हिजो वडा कार्यालयले डेढ लाख बराबरको तरकारी कृषि बजारबाट ल्याएर बिक्री गरेको थियो । पहिलो दिन करिब १ लाख बराबरको तरकारी बिक्री भएको थियो । आज ७५ हजार जतिको थप तरकारी बिक्री केन्द्रको लागि ल्याएको वडा सदस्य आर्चायले जानकारी दिए ।

१६ नं वडामा सहुलियत दरको सागसब्जी बिक्री केन्द्र:
१, वडा कार्यलय
२, समी चौक
३, लेखनाथ चौक
४, जोगीधारा चौक
५, प्रगतिमार्ग सुयॅ भण्डारीको घर
६, जोर सखुवा वडा अधयक्षको घरछेउ
७, गणतन्त्र चौक