धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन घरभित्रै बस्नुबाहेक अन्य अचुक औषधी छैन । त्यसैले नेपालसहित विश्वका अन्य मुलुकहरुमा लकडाउन जारी छ ।
तर, लकडाउनले सबैको दैनिक जीवन सकसपुर्ण बितिरहेको छ । मानिसहरुको सकसपुर्ण दैनिकीलाई केही समय भएपनि रमाइलो बनाउन गायक एपी शेर्पाले एउटा उपाय रचेका छन् । उनी हरेक दिन एक घण्टा फेसबुकमार्फत लाइभ गीत गाउँछन् । फेसबुकमा उनको लाइभ गीत सुनेर साथीभाईहरुले मनोरञ्जन लिने गरेका छन् । ‘घरभित्रै बसिरहदा निक्कै बोर भइरहेको हुनसक्छ, त्यसैले फेसबुकमा रहेका साथीभाईहरुलाई मनोरञ्जन दिलाउन शुरु गरेको हुँ,’गायक शेर्पाले भने,‘सबै साथीभाईहरु खुशी हुनुहुन्छ, हामी रेडी छौं है भन्दै मेसेज गर्नुहुन्छ ।’
घरबाटै गायक शेर्पाले ४ दिनदेखि लाइभ गाउन थालेका हुन् । उनले दिउँसो १ बजेदेखि २ बजेसम्म फेसबुकमा लाइभ गाउने गरेका छन् । हरेक दिन १० वटा जति गीत गाउछन् । गीतहरु आफ्नै पनि गाउछन् भने केही पुराना नेपाली र पुराना हिन्दी गीतहरु पनि उनले गाउने गरेका छन् । गीत गाउदै भए पनि उनी घरभित्रै सुरक्षित रहन पनि आग्रह गर्ने गरेका छन् । ‘लकडाउन अवधिभर म यसरी नै एक घण्टा लाइभ गीत प्रस्तुत गर्नेछुँ,’उनले भने ।