धरान: कोरोना भाइरस(कोभिड १९) रोकथामको लागि जारी लकडाउनले समस्यामा परेका विपन्न परिवारको लागि राहत संकलन, वितरण र समन्वयको लागि धरानमा सर्वपक्षीय राहत समिति गठन भएको छ ।

आज धरान उपमहानगरपालिकाको आह्वानमा भएको सर्वपक्षीय बैठकले नगर प्रमुख तिलक राई संयोजक रहने गरी ९ सदस्यीय नगरस्तरीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी छिन् भने सदस्यहरुमा पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, नागरिक समाजबाट गौरीशंकर अग्रवाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की र नेपाल पत्रकार महासंघ सुनसरीका प्रतिनिधि पनि रहने निर्णय गरिएको छ । यस्तै, समितिको सदस्य सचिवमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।

समितिले आवश्यकता अनुसार विभिन्न व्यक्तित्व तथा संस्थासँग सम्पर्क र समन्वय गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही बैठकले उपमहानगरले गरेको दैनिक क्रियाकलापहरु सार्वजनिक गर्न तथा अन्य थप सहयोगको लागि धरान उपमहागनरमा हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय गरेको छ । हेल्पडेस्कको संयोजकमा सुचना अधिकारी रहने निर्णय भएको छ ।