धरान: धरानमा आज बुधबार सम्पन्न भएको सुरक्षा संयन्त्रको बैठकले दोस्रो चरणको लकडाउनलाई झन कडा बनाउने निर्णय गरेको छ ।

धरानका मेयर तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा भएको बैठकले लकडाउन झन् कडा बनाउने निर्णय गरेको हो । धरानमा कोरोना संक्रमणको जोखिम अलि बढी भएकोले लकडाउन कडा बनाउने निर्णय गरिएको र गाडीको प्रबन्ध गरेर प्रहरी परिचालन गर्ने निर्णय भएको मेयर तिलक राईले बताए । यस्तै, अनधिकृतरुपमा खाद्यान्न संकलन र वितरण गर्ने कार्यलाई पनि निरुसाहित गर्ने उनले बताए ।

dharan-surakxa-meeting

राहत व्यवस्थितपमा वितरण गर्न कार्यविधि बनाएर र वास्तविक विपन्नको पहिचान गरी एकद्धार प्रणालीमार्फत वितरण गर्ने बैठकले निर्णय गरेको छ । उपमहानगरको फुड बैंक र राहत कोषमार्फत गरिने भएकोले अन्य व्यक्ति तथा संघसंस्थालाई राहत संकलन र वितरणमा रोक लगाउने पनि निर्णय गरेको छ । बैठकले वडाका अध्यक्षहरुलाई पनि आफु खुशी राहत वितरण नगर्न आग्रह गरेको छ । ‘हामीले व्यवस्थितरुपमा राहत वितरणको लागि फुड बैंक स्थापना गरेका छौं, वडाअध्यक्षहरुलाई पनि आफु खुशी राहत वितरण नगर्न आग्रह गछौं,’मेयर तिलक राईले भने,‘कसैले त्यसरी राहत संकलन र वितरण नगर्न आग्रह गछौं, गरिरहेको छ भने रोक्छौं, र जफत गछौं ।’

धरान प्रवेश गर्ने नाका सिल गर्ने बिषयमा पनि बैठकमा छलफल भएको थियो । नाका सिल गर्न इन्फारेड थर्मोमिटर आवश्यक भएकोले त्यो उपलब्ध भएपछि नाका सिल गर्ने बैठकको निर्णय छ । विभिन्न राजनीतिक दलका युवा दस्ता परिचालन गर्नेबारे पनि छलफल भएको मेयर राईले बताए । लकडाउनबारे आवश्यकता अनुसार सचेतनाको लागि युवा स्वयम्सेवक परिचालन गर्ने सोच रहेको पनि मेयर राईले बताए ।