धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिन तोकेर नै तलब राहत कोषमा सहयोग गर्न आग्रह गदै पठाएको पत्रबारे चौतर्फी आलोचना भएपछि धरानका मेयर तिलक राईले प्रष्टीकरण दिएका छन् ।

आज धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर राईले असल नियत र मनसायले पत्र पठाएको प्रष्टीकरण दिएका हुन् । उनले प्रतिष्ठानका पदाधिकारी, डाक्टर तथा कर्मचारीहरुलाई जर्बजस्ती र दबाब सृजना गर्ने मनसायले राहतको लागि पत्राचार नगरेको पनि बताए । ‘डाक्टरहरुसँग अनौपचारिक कुरा भयो । सहयोग गर्ने कुरा नै थियो,’मेयर राईले भने,‘पत्र असल नियतले नै लेखेर पठाएको हो, तर प्रक्रियागतढंगले गलत नजिर स्थापित गर्छ कि भन्नेमा ध्यानाकर्षण भएको पाउछुँ । यसलाई अन्यथा नलिन आग्रह गर्छु ।’

dharan-pressmeet

मेयर राईले तलबको लागि दिन तोकेकोमा चासो भएको भन्दै त्यो कट्टा गर्ने वा दबाब दिने मनसाय नभएको पनि प्रष्ट पारे । उनले वीपीका सबैलाई दबाब महशुस नगर्न पनि आग्रह गरेका छन् । राज्यले अतिरिक्त सेवा सुविधा दिएर यो संकटमा स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नुपर्ने कुरामा आफुहरु सहमत भएको र त्यसअनुसार गर्नुपर्ने दायित्व पुरा गर्ने पनि मेयर राईले बताए । ‘आफ्नो ज्यान जोखिम मोलेर स्वास्थ्यकर्मीहरु खटिइरहनु भएको छ, यसको उच्च मुल्यांकन गर्छु । वीपीका डाक्टरहरुसँग शुरुका दिनदेखि नै हामी सँगै काम गरिरहेका छौं,’उनले भने,‘हामीसँगै छौं, मानवीय सहयोगको अपिल मात्र गरेका हौं ।’

उनले सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिदै पत्र लेखिएको सम्पुर्ण जिम्मेवारी आफुले लिने पनि बताए । राहत समिति, नगरका अन्य नेतृत्व वा कर्मचारीहरु कसैलाई पत्र लेखिएको बिषयमा मुछ्न जरुरी नभएको पनि उनले बताए । ‘नगर प्रमुखले जिम्मेवारी लिने हो, अरु कसैलाई दोष दिन उचित हुदैन र समिति वा कसैलाई मुछ्न जरुरी छैन,’उनले भने ।