धरान: लकडाउनको कारण रोजीरोटी गुमेर दैनिक गुजारामा समस्या भइरहेका विपन्न परिवारलाई राहतको लागि प्याब्सन धरान नगर समितिले राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

मंगलबार प्यासब्नले धरान उपमहानगरपालिकामा मेयर तिलक राईलाई नगद हस्तान्तरण गरेको हो । प्याब्सनका नगर अध्यक्ष राजकुमार लिम्बुले नगद १ लाख ५ हजार रुपैया राहत कोषको लागि रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष लिम्बुले सामाजिक उत्तरदायित्व पुरा गर्ने कर्तव्य सम्झिएर निजी विद्यालयहरुको संगठनले सहयोग गरेको बताए ।

अध्यक्ष लिम्बुले स्थानीय सरकार आफ्नै सरकार भएकोले पनि एकापसमा सहयोग आदनप्रदान गर्नुपर्ने महशुस गरेर पहिलो चरणमा सहयोग गरिएको बताए । भविष्यमा पनि स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने अवस्था आएमा पुनः सहयोग गर्ने प्रतिवद्धता जनाए । मेयर राईले लगत संकलन भएका करिब १० हजारको संख्याका लक्षित वर्गमा राहत सामग्री पुग्ने विश्वास दिलाए । ‘सबैबाट प्राप्त भएको सहयोग लक्षित वर्गसम्म पुग्ने विश्वास दिलाउन चाहन्छु,’उनले भने ।