धरान: राजनीतिज्ञ एवं लेखक, साहित्यकार भुईदल राईको निधन भएको छ ।

उनको हिजो मध्याह्न इटहरीस्थित निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय राईको पुख्यौली थलो भोजपुरको गतुवागढीस्थित सिन्द्राङ हो । उनी लामो समय धरानमा पनि बसेका थिए । लेखनमा अत्यन्त सक्रिय राईको थुप्रै पुस्तकहरु प्रकाशित छन् । समसामयिक बिषयहरुमा निरन्तर लेख तथा रचनाहरु सृर्जना गरिरहन्थे । स्वर्गीय राईको अन्त्येष्टी आज धरानमा गरिनेछ ।

साहित्यकार शरणकुमार राईका अनुसार स्वर्गीय राई समाजमा अध्ययन सँस्कृतिको विकास हुनुपर्छ भन्ने अभियानमा थिए । त्यसैले उनी आफुले लेखेका पुस्तकहरु घर घरमा बाँड्न र बिक्री गर्न पनि जान्थे । ‘उहाँको किताबहरु थुप्रै छन्, उहाँ लेखक र सामाजिक अभियन्ता हुनुहुन्थ्यो,’क्लिक धरानसँग पुर्वप्रध्यापक राईले भने,‘समाज राम्रो गतिमा अघि बढ्नुपर्छ, केही न केही गरिरहनुपर्छ भन्ने सकरात्मक व्यक्तित्व हुनुहुन्थ्यो ।’

स्वर्गीय राईका छोरा गंगाराजका अनुसार कुल ९२ वटा पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय भुईदलको इतिबृत्ति नामक पुस्तक तयारी भएपनि कोरोनाको कारण जारी लकडाउनले गर्दा प्रकाशित हुन भने पाएन । स्वर्गीय राई भोजपुर जिल्लाकै पहिलो जिल्ला पञ्चायत सभापति र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए । स्वर्गीय राई आफ्नो नाम भुइँदल राईलाई बान्तावा भाषामा उल्था गरेर आफ्नो नागरिकतामा समेत पुनः संशोधन गर्ने साहसिक व्यक्तिकोरुपमा पनि परिचित थिए ।

मुख्यमन्त्री राईद्धारा श्रद्धाञ्जली अर्पण

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले स्वर्गी भुइदल राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीति क्षेत्रबाट मात्र नभएर साहित्य, लेख र समसामयिक रचनाहरुमार्फत नेपाली समाजलाई मार्गदर्शन गर्ने व्यक्तित्वको निधनको खबरले आफुलाई स्तब्ध बनाएको पनि उल्लेख गरेका छन् । ‘यस दुःखद क्षणमा वहाँ प्रति हार्दिक श्रद्वान्जली अर्पण गर्दै सम्पुरण शोकाकुल परिवारजनमा हार्दिक सहानुभूति सहित समबेदना प्रकट गर्दछु,’मुख्यमन्त्री राईले लेखेका छन् ।