विराटनगर: विराटनगरमा आजदेखि कोरोना भाइरस संक्रमणको परीक्षण शुरु भएको छ ।

कोशी अस्पतालमा भएको ल्याबको क्षमता विस्तार गरेर प्रदेश सरकारले ल्याब सञ्चालन गरेको हो । मुख्यमन्त्री शेरधन राईले ल्याबमा दैनिक सय जनाको स्वाबको नमुना परीक्षण गरिने बताए । ‘केही मेसिनहरु यस अघि नै रहेछन्,’राईले भने,‘बाँकी आवश्यक उपकरण प्राविधिकसहित मगाएर ल्याब सञ्चालनमा ल्याइएको हो ।’ मुख्यमन्त्री राईले ल्याबबाट दैनिक एक सय नमुनाको परीक्षण गरिने जानकारी दिए ।

यसअघि प्रदेश एकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा कोरोनाको स्वाब परीक्षण हुने गरेको थियो । वीपीमा शुरुमा एक दिनमा १२ परीक्षण भएको थियो भने पछि क्षमता वृद्धि गरिएको थियो । मुख्यमन्त्री राईले धरानको ल्याबको पनि क्षमतालाई समेत बढाउने काम भइरहेको जानकारी दिए ।