धरान:कोरोना भाइरस संक्रमण आशंका गरिएका व्यक्तिहरुको स्वाब परीक्षण भोली आइतबारदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै हुने भएको छ ।

प्रयोगशाला तयार भएकोले आइतबारदेखि कोरोना आशंका गरिएका व्यक्तिहरुको थ्रोट स्वाबको परीक्षण प्रतिष्ठानमा नै हुने कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी दिए । ‘सबै रेडी भइसक्यो, भोली विविधत शुरुवात हुन्छ,’कार्यवाहक उपकुलति डा.खनालले भने ।

ल्याबको विधिवत उद्घाटन आइतबार मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको छ । मुख्यमन्त्री राईबाट ल्याब उद्घाटन हुने भएपनि औपचारिक कार्यक्रम भने हुने छैन । ज्यादै थोरै प्रतिष्ठानकै सिमित पदाधिकारी र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा विधिवत उद्घाटन मात्र हुनेछ भने उपस्थित व्यक्तिहरुको पनि दुरी कायम गरिनेछ । अहिलेसम्म प्रदेश एकबाट कोरोना परीक्षणको लागि थ्रोट स्वाब काठमाण्डौंस्थित प्रयोगशालामा नै पठाउनु परिरहेको थियो । सरकारले नै प्रादेशिकस्तरमा ल्याब स्थापना गर्ने निर्णय गरेअनुसार वीपीमा पनि सञ्चालनमा आउन लागेको हो ।