धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभागमा सञ्चालित ल्याबमा स्वाब टेष्ट गर्ने क्षमता चौगुणा बढेको छ ।
कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन सञ्चालित यो ल्याबमा शुरुवाती दिनहरुमा १२ वटा मात्र स्वाब टेष्ट हुने गरेको थियो । तर, पछिल्लो समय प्रतिष्ठानको ल्याबले परीक्षण क्षमता बढाउदै लगेको छ । प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरका अनुसार अहिले प्रतिष्ठानको ल्याबमा दैनिक ४८ जनाको स्वाब परीक्षण गर्ने क्षमता पुगेको छ । ‘यहाँको ल्याबको क्षमता क्रमैसँग बढ्दै गएको छ, अहिले ४८ जनाको स्वाब एकदिनमा टेष्ट हुनसक्छ,’उनले भने ।
प्रतिष्ठानको ल्याबमा बिहिबार ३७ जनाको स्वाब टेष्ट गरिएको थियो भने शुक्रबार एकै दिन ४८ जनाको स्वाब टेष्ट गरिएको थियो । ती सबैको रिपोर्ट पनि नेगेटिभ नै आएको छ । प्रतिष्ठानमा हालसम्म १ सय ६८ जनाको स्वाब परीक्षण भएको छ । ती सबैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको आएको छ ।