धरान: लकडाउनको बेला पनि लुकीछिपी भारतबाट सब्जी व्यापारी धरान आएको खबर फैलिएर चौतर्फी दबाब परेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल पनि बन्द हुने भएको छ ।
कृषि बजारले व्यापारीहरुलाई कृषि बजारमा हरियो सब्जी तथा तरकारी आपूर्ति नगर्न भनिसकेको छ भने औपचारिक निर्णय गर्न उपमेयरको संयोजकत्वमा गठित समितिको बैठक बस्ने तयारी भइरहेको छ । विभिन्न जिल्ला र भारतबाटसमेत तरकारी आयात भइरहेको कृषि बजारमा तरकारी लिन बिहान भिडभाड भएको भन्दै आलोचना पनि भइरहेको थियो । तीन दिनअघि एक सब्जी व्यापारी भारतबाट आएको र क्वारेन्टाइनमा पनि नबसेको खुलेपछि चौतर्फी विरोध भएको थियो । जोखिम उच्च हुने भएको भन्ने आवाज उठेपछि केही समयलाई कृषि बजार बन्द गरिन लागेको बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कटवालले जानकारी दिए ।
अध्यक्ष कटवालका अनुसार केही बेरपछि मेयर, उपमेयरसहित बैठक बसेर औपचारिक निर्णय हुनेछ । ‘कृषि बजारबाट संक्रमण फैलन्छ कि भन्ने जनगुनासो आयो, त्यसैले बन्द गर्न लागिएको हो,’उनले भने । कृषि बजारका व्यवस्थापक लक्ष्मण भटराईका अनुसार आजैदेखि बाहिरी जिल्लाहरुबाट तरकारी मगाउन बन्द भइसकेको छ । भोली बुधबारदेखि धरानभित्रैबाट पनि तरकारीहरु कृषि बजार आउन बन्द हुनेछ । ‘भोलीदेखि पुर्णरुपमा आपूर्ति बन्द हुन्छ, बाकी रहेको हरियो तरकारी आजैसम्म जसरी पनि बिक्री गरिसक्नु भनेका छौं,’व्यवस्थापक भट्टराईले भने,‘भारतबाट तरकारी आउदा लुकीछिपी मान्छे आउने खतरा भयो, संक्रमणको पनि जोखिम हुन्छ भन्ने सबैको कुरा आएपछि यो कदम चालिएको हो ।’
एक सब्जी व्यापारी भारतबाट आएपछि धरानमा तरकारीबाट पनि संक्रमणको जोखिम भएको बहस चलेको थियो । बजारका व्यवस्थापक भट्टराईका अनुसार ती सब्जी व्यापारीलाई आएदेखि नै कृषि बजारभित्र प्रवेश गर्न दिइएको थिएन । उनलाई घरमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिइए पनि नबसेको र ज्वरोको औषधी लिन गएको खुलेपछि ती व्यापारीका छिमेकीहरुमा कोरोना संक्रमणको त्रास छाएको थियो । ‘हामीले भित्र छिर्नै दिएका थिएनौं, घरमा क्वारेन्टाइनमा नबसेर समस्या भयो,’व्यवस्थापक भट्टराईले भने,‘अहिले त फुस्रे क्वारेन्टाइनमा राखिएको छ।’