धरान: धरान १३ कृषि बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीका दाजु झण्डै ४ दिनअघि भारतबाट धरान १५ स्थित घर आएका थिए । उनी कृषि बजारमा गएपछि घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइदिएका थिए ।

ती व्यक्ति क्वारेन्टाइनमा त बसेनन् नै, आइतबार बेलुकी पखला र ज्वरोको औषधी लिन भन्दै मेडिकल तिर गएको हल्लाले धरान १५ भानुमार्गका बासिन्दामा चिन्ता थपियो ।  कतै उनी कोरोना भाइरस संक्रमणको जोखिम भएको व्यक्ति त होइन ? स्थानीय चिन्तित भए । साँझ परिसकेकोले उनीहरु आइतबार चुप बसे ।

आज सोमबार बिहानै स्थानीयले प्रहरी र जनप्रतिनिधिहरुलाई खबर गरे । प्रहरी ती व्यक्तिको घरमा पुगे, भेटिएनन् । आफन्तले कृषि बजार गएको भनेपछि त्यहाँ पनि सम्पर्क गरे, तर उनी थिएनन् । त्यसपछि स्थानीय बासिन्दामा झन् चिन्ता थपियो । ‘जनप्रतिनिधिहरुलाई उ भारतबाट आएको थाह थिएछ, त्यतिबेला नै उसलाई क्वारेन्टाइनमा लगेर राख्नुपथ्र्यो,’ युवा संघका नेता एवं स्थानीय हिमाल लिम्बुले भने ।

प्रहरी र जनप्रतिनिधिहरु सबैले सोमबार बिहान चासो लिदै सोधी खोजी गरिएपछि केही बेरमा ती व्यक्ति छाताचोकस्थित सालाको घरमा रहेको खुल्यो । त्यसपछि, मेयर तिलक राई र वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेबीच कुराकानी भएर उनलाई फुस्रे क्वारेन्टाइनमा लैजाने निधो भयो । ‘उसलाई अस्तिकै दिन क्वारेन्टाइनमा बस्नु भनेर कृषि बजारबाट पठाएको हो । आज जसरी पनि क्वारेन्टाइनमा लैजान्छौं,’कृषि बजार सञ्चालक समितिका पदेन सदस्यसमेत रहेका वडा १३ अध्यक्ष काफ्लेले भने । धरानका मेयर राईले पनि ती व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने बताए ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ती व्यक्तिलाई लिन एम्बुलेन्स आइसकेको र शुरुमा वीपी प्रतिष्ठान लगिने बताए । त्यसपछि उनलाई फुस्रे क्वारेन्टाइनमा राखिने पनि उनले बताए । करिब ६० बर्षीय ती सब्जी व्यापारी लकडाउनको बेला कसरी धरान आए भन्ने खुलेको छैन । उनी आफैले भने आफन्तजनलाई हिडेर नै आएको बताए पनि पत्याउने आधार छैन ।कतिले भने उनी कृषि बजारमा आउने सब्जीको गाडीमा लुकेर आएको अनुमान गर्छन् ।