धरान: भारतीय सब्जी व्यापारीको आवतजावतले कोरोना भाइरस(कोभिड १९)को जोखिम बढेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल एक सातालाई बन्द हुने भएको छ ।

आज बिहान उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा व्यापारी एवं सरोकारवालाहरुसँगको बैठकले बैशाख १० गतेसम्मलाई कृषि बजारमा पनि लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि परिस्थिति हेरेर र आम उपभोक्ताको चाहना अनुसार कृषि बजार खोल्ने वा बन्दलाई निरन्तरता दिने भनेर पुर्नविचार गर्ने बैठकले निर्णय गरेको उपमेयर भण्डारीले जानकारी दिइन् । ‘एक सातालाई कृषि बजार लकडाउन गर्ने निर्णय भयो, त्यसपछि परिस्थिति हेरेर, र उपभोक्ताहरुको चाहना अनुसार थप निर्णय हुन्छ,’उनले भनिन् ।

उपमेयर भण्डारीले प्रदेश र संघीय सरकारले भारतसँगको नाकामा कडाई गर्नुपर्ने पनि बताइन् । सब्जी आयातको नाममा भारतबाट मानिसहरु आइरहेकोप्रति सरकारले बिशेष ध्यान दिनुपर्ने उनले बताइन् । ‘सब्जीको गाडीबाट मानिसहरु आइरहेका छन्, सिमा नाकामा नै कडाई गर्नुपर्यो,’उनले भनिन् ।

krisi-meeting

कृषि बजारले आजदेखि धरान बाहिरबाट तरकारी बोकेर ल्याउने गाडीहरुलाई पास दिन बन्द गरिसकेको छ भने सबै तरकारी व्यापारीहरुलाई पनि आयात नगर्ने जानकारी गराइसकेको छ । धरानबासीहरुलाई तरकारी अभाव हुन थालेपछि उपमहानगरपालिका र कृषि बजारबीच समन्वय गरेर उपभोक्ताको घरघरमा तरकारी पुर्याइएको थियो । त्यसको लागि कृषि बजार सञ्चालनमा ल्याइएको थियो । तर, कृषि बजारमा भिडभाड हुन थालेको भन्दै केही समय यता आलोचना हुन थालेको थियो भने एक जना सब्जी व्यापारी भारतबाट लुकिछिपी आएको सार्वजनिक भएपछि संक्रमणको जोखिम हुने भन्दै कृषि बजार बन्द गर्न चर्को दबाब परेको थियो ।

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आज मध्याह्नदेखि नै कृषि बजार सुनसान भइसकेको छ । व्यापारीहरुलाई बाँकी रहेको हरियो तरकारी आज दिनभरिमा बिक्री गरिसक्न भनिए पनि मध्याह्नदेखि नै बजार सुनसान भएको हो । कृषि बजारका पदेन सदस्य एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले हरियो सब्जी पनि आउन नदिने भएपछि धरानको मुख्य नाकाहरु सिल गर्न आग्रह गरेका छन् । ‘अब तरकारी नै ल्याउन नदिने भनेपछि नाकाहरु सिल गर्नुनै उचित हुन्छ, नत्र राती राती मान्छेहरु प्रवेश गर्ने सम्भावना हुन्छ,’उनले भने ।