धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)मा हिजो कोरोना पोजेटिभ देखिएको झापास्थित हल्दिवारी गाउँपालिकाका एक युवाका पिसिआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको छ ।

कोशी अस्पताल विराटनगरमा आज भएको पिसिआर परीक्षणमा ती युवासहित २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनले जानकारी दिए । ‘र्यापिड टेष्ट पछि शंका लागेको र सम्भावित मान्छेहरु २१ जनाको स्वाब विराटनगर पठाएका थियौं, भर्खर सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी स्वास्थइ कार्यालयबाट आएको छ,’अध्यक्ष लिंदेनले भने ।

उनका अनुसार चार जना भारतबाट आएकाहरु गाउँपालिकाको क्वारेन्टाइनमा छन् भने अरु सबै सेल्फ क्वारेन्टाइनमा छन् । हिजो गाउँपालिकामा गरिएको र्यापिड टेष्टमा एक युवाको रिपोर्ट पोजेटिभ आएपछि २१ जनाको स्वाब लिएर पिसिआर परीक्षण गर्न विराटनगर पठाइएको थियो । हिजो आरडिटीको रिपोर्ट पोजेटिभ आएपनि सार्वजनिक गरिएको थिएन । स्थानीयस्तर र प्रदेश सरकारले पनि ती व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको सुचना गोप्य राखेको थियो ।