धरान: उदयपुर जिल्लामा एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएपछि शुक्रबार राती एकाएक धरानमा कर्फयु लाग्ने हल्ला चल्यो ।

सामाजिक सञ्जाल फेसबुकमा कफ्र्युको हल्ला भाइरल भएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसँग सम्पर्क गर्यौं । डिएसपी न्यौपानेले कफ्र्यु लगाउने हल्ला मात्र भएको बताए । तर, उनले धरानमा शनिबार बिहानैदेखि लकडाउन कडा बनाउने प्रष्ट पारे । ‘कफ्र्यु लगाउने कुरा छैन, तर लकडाउनमा अहिलेसम्मकै कडाई गछौं,’उनले भने,‘अत्यावश्यकबाहेक सबै कुरा रोक्छौं ।’

डिएसपी न्यौपानेका अनुसार धरान चतरा सडक खण्ड बन्द भइसकेको छ भने पानवारी नाका पनि बन्द हुनेछ । यस्तै, तीनकुने र कोशी लोकमार्ग पनि कडा पारिनेछ । लकडाउन उल्लंघन गर्नेलाई शनिबारदेखि दिनभरि नियन्त्रणमा राखिने पनि डिएसपी न्यौपानेले बताए । ‘हामी थप माइकिङ गछौं, यस बिषयमा वडाअध्यक्ष ज्यूहरुलाई जानकारी गराइसकेका छौं,’डिएसपी न्यौपानेले भने ।