धरान: स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको क्रममा आएको पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएको छ ।
अबदेखि पुर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पिसिआर विधिबाट पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसन हुनेछ भने पश्चिमा भेरी अस्पतालबाट पनि भेरिफिकेशन हुनेछ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले यो बारे जानकारी दिएका हुन् । उनका अनुसार एउटा मेसिनबाट पिसिआर रिपोर्ट पोजेटिभ आएमा अर्को मेसिनमा पनि परीक्षण गरेपछि मात्र स्पष्टता आउछ । त्यसैको लागि विभिन्न ठाउँमा भइरहेको परीक्षण पोजेटिभ आउदा क्रस भेरिफिकेसन गर्न काठमाण्डौंस्थित राष्ट्रिय जनप्रयोगशालामा नै पुर्याउनुपथ्र्यो । अब भने भेरी अस्पताल र वीपी प्रतिष्ठानबाटै भेरीफिकेसन हुने पनि डा.देवकोटाले बताए ।
उनका अनुसार यी दुई अस्पतालबाट भेरिफिकेसन भएपछि मात्र पिसिआर पोजेटिभ भनेर घोषणा गरिनेछ । ‘यसले ढिलाई भएको र किन गर्नुपरेको भन्ने प्रश्न पनि उठिरहेको थियो,’डा. देवकोटाले भने,‘अबदेखि क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएका छौं । पश्चिममा भेरी अस्पतालमा र पुर्वमा वीपी प्रतिष्ठानमा अन्त्रय ठाउँबाट पिसिआर पोजेटिभ आएको केस भेरिफिकेसन भएपश्चात मात्र नमुना पोजेटिभ भनेर घोषणा गरिन्छ ।’
वीपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका डा.नारायण भट्टराई पिसिआरमा विज्ञता हासिल गरेका छन् । उनी पिएचडी डाक्टर हुन् भने पिसिआरमा अन्तराष्ट्रियक्षेत्रमा पनि काम गरिसकेका छन् । वीपी प्रतिष्ठानमा प्रदेश एकमा सबैभन्दा पहिला कोरोनाको पिसिआर परीक्षण शुरु भएको थियो । अहिले कोशी अस्पताल विराटनगरमा पनि भइरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले वीपीमा नै पिसिआर पोजेटिभ नमुनाको भेरिफिकेसन गर्दा राष्ट्रिय जनप्रयोगशालामा भार कम पर्ने र छिटो पनि रिपोर्ट आउने बताए ।