धरान: एक साताभन्दा अघि पहिलो चरणको राहत पाएका धरानका अतिविपन्न परिवारले घरमा राहत सकिएको गुनासो गरेका छन् ।

उनीहरुले राहत सकिएकोले समस्यामा परेको गुनासो धरानका मेयर तिलक राईसमक्ष गरेका हुन् । जनतासँग मेयर कार्यक्रममा धरान १३, सुर्य मागबाट राहत सकिएको गुनासो गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष तीर्थ पोख्रेलले विपन्न स्थानीय परिवारमा राहत सकिएको गुनासो आएको जानकारी गराएपछि उपमानगरपालिकाबाट एक टोली स्थलगत अनुगमनमा गएको थियो । त्यसक्रममा ज्यालादारीमा काम गर्ने ८ परिवारलाई समस्या भएको पाइएको अनुगमनमा गएका नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । ‘जनगुनासो आएपछि स्थलगत अवलोकनमा गएका थियौं, ८ घरको मान्छे ज्यालादारीमा काम गर्ने रहेछन्,’उनले भने,‘अस्ति दिएको राहत सकियो, फेरि दिए हुन्थ्यो भन्ने कुरा रहेछ । हामीले वडासँग समन्वय गरेर दिन्छ भन्यौं ।’

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार बैशाख १० गतेदेखि दोस्रो चरणको राहत वितरण गर्ने तयारी गरिएको छ । राहत वितरणको लागि खरीद प्रक्रिया शुरु भइसकेको पनि उनले जानकारी दिए । खतिवडाका अनुसार पहिलो चरणमा १० हजार परिवारलाई राहत विरतण गरिएको थियो । दोस्रो चरणमा यो संख्या दोब्बर पुगेको छ । ‘१० गतेदेखि दोस्रो चरणको राहत वितरण हुने गरि तयारी गर्नुस् भन्ने निर्देशन वमोजिम खरीद प्रोसेस भइरहेको छ,’खतिवडाले भने,‘दोस्रो चरणमा थप विपन्न संखया थपिएर २० हजार हाराहारी पुगेको छ ।’