धरान: लकडाउनले पोल्ट्री(कुखुरापालन) व्यवसाय धरासायी भएको भन्दै कुखुरापालक किसानहरुले निश्चित समयमा कुखुरा बेच्न पाउनुपर्ने माग गरेका छन् ।
हुर्केका कुखराहरु बेच्न नपाउदा लगानी डुब्ने चिन्ता कुखुरापालक किसान तथा व्यवसायीहरुलाई छ । धरानका कुखुरापालक किसान तथा व्यवसायीहरुले बिहान र बेलुका २/२ घण्टा कुखुरा बेच्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले यो माग लिएर धरानका मेयर, उपमेयर, प्रहरी प्रमुखलाई भेटे पनि लकडाउनको कारण पुरा हुन सकेन । व्यवसायीहरुका अनुसार राती १० बजेदेखि २ बजेसम्म मात्र धरान भित्र उत्पादन भएको कुखुरा गाडीमा बिक्री गर्न अनुमति दिइएको छ । ‘हामीले बिहान र बेलुकमा मिलाएर २/२ घण्टा बेच्न दिइयोस् भन्यौं, तर अनुमति पाएनौं,’एक व्यवसायीले भने,‘राती १० बजेदेखि २ बजेसम्म कुखुरा बेच्न गाडी घुमाउन पाउने अनुमति पायौं ।’
ती व्यवसायीका अनुसार लकडाउनले पोल्ट्री व्यवसाय र कुखुरापालक किसानहरुको अवस्था ज्यादै दयनीय छ । धरानमा मात्र करिब ३ सय बढी कुखुरा मासु व्यवसायीहरु छन् । धरानको चिण्डेडाँडा, विष्णुपादुका, पानवारीतिर थुप्रै कुखुरापालन व्यवसाय छ । ती फर्मबाट बजारसम्म कुखुरा ल्याएर बिक्री गर्न गाडी प्रयोग गरेर ल्याउन निक्कै समस्या भएको व्यवसायीहरु बताउँछन् ।
धरान मासु व्यवसायी संघका अध्यक्ष एवं भिआरसि मिट मार्टका सञ्चालक मदन राईका अनुसार व्यवसायिकरुपमा पालिएको कुखुरा ४५ दिनमा बिक्री गरिसक्नुपर्छ । त्योभन्दा धेरै दिन पाल्दा ठुलो नोक्सानी हुन्छ । अहिले लकडाउनको कारण कुखुरापालक किसान तथा व्यवसायीहरुले हुर्केको कुखुरा बिक्री गर्न नपाउदा समस्या परिरहेको उनले बताए । ‘कुखुरालाई सप्लाई गर्न राती १० देखि २ बजेसम्म पाउने भयो, तर मासु बेच्ने पसल चै खोल्न नदिइने कुरा भयो,’अध्यक्ष राईले भने,‘मासु घर घरमा डेलिभरी गर्न चै पाउने भएको छ ।’