मोरङः जिल्लाका दुध उत्पादन किसानको ६० प्रतिशत दुध खेर गएको छ । मुलुक लकडाउनमा गएपछि जिल्लाका किसानले उत्पादन गरेको दुध स्थानीय डेरीले लिएका छैनन भने ठुला डेरीले समेत दुधको मात्र घटाएका छन् ।
अहिले केही किसानले गाउँघरमै र डुलाएर दुध बिक्री गर्दै आएपनि ठुलो परिमाणमा गाई भैँसी पाल्ने किसान पशु आहारको अभाव र दुध बिक्री नहुँदा समस्यामा परेको गाइपालक किसान हरिबहादुर बस्नेतले दुखेसो पोखे । बस्नेतका अनुसार अहिले पशुलाई खुवाउने आहाराको पनि चरम अभाव छ । ‘सामान्य प्राण धान्न हम्मे हम्मे परिरहेको छ, उत्पादन भएको दुध फालौँ कि गाउँमा बाँडौ भएको छ,’उनले भने,‘फाल्न लोभ लाग्छ, बाँडौ न भन्यो, लिन कोही आउँदैन ।’
अर्की किसान कल्पना घिमिरेले देश लकडाउनमा गएसँगै किसानको हातमुख जोर्न गाह्रो भएको गुनासो गरिन् । ‘व्यवसायिक पशुुपालन गरेर जिविकोपार्जन गर्नेको केही व्यवसाय छैन,’घिमिरेले भनिन्,‘दुध बेचेर परिवार पाल्ने हामी जस्ता किसानले के खाने कसरी परिवार पाल्ने अवस्थामा पुग्यौँ ।’ गाउँघरका किसानले उत्पादन गरेको दुध सहकारीसम्म पुर्याउन समस्या छ भने सहकारीलाई समेत दुुध लिन कोरोना भाइरस संक्रमणको त्रास छ । गाउँको बनिगामा दुुग्ध सहकारी सँस्थाका अध्यक्ष समेत रहेका किसान होमनाथ दाहालले कोरोना सर्ने डरले किसान डेरीसम्म आउन नसकेको बताए । आएका किसानसँग पनि कसरी लिने भन्ने भय भएको बताए ।
सहकारीमा आवद्ध रहेका किसान दुध नबिकेपछि कसरी बैँकको ऋण तीर्ने भनेर अलमलमा छन् । बैँकको ब्याजसमेत मिनाहा गरिदिए व्यवसायीक पशुपालनमा रहेका जिल्लाका १ सय ९७ किसानलाई राहत हुने किसान यादव ढकालको भनाई छ । मोरङमा दैनीक करिब ७० हजार लिटर दुुध उत्पादन हुने गरेको छ । उक्त दुध साना सहकारी डेरीमार्फत सँकलन भएर ठुला डेरी डिडिसी, जीवन विकास र कामधेनु लगाएतले लिने गरेका छन् । तर हाल ठुला डेरीले हाल २५ प्रतिशत मात्र दुध लिएका छन् । जसको प्रत्यक्ष मार व्यवसायीक पशुपालक किसान र साना किसानलाई परेको छ ।