धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा १२ जना कोरोना पोजेटिभ व्यक्तिहरु भेटिए पछि उच्च जोखिम भएको भन्दै धरानको सबै नाका सिल गरिएको छ ।

प्रहरीले कोशी राजमार्गको तीनकुने, फुस्रे, पानवारी र धरान चतरा सडकखण्डमा सिल गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कोशी राजमार्गमा पास भएको बाहेक कुनै पनि सवारीसाधन प्रवेश गर्न दिइएको छैन । धरानभित्र होम डेलिभरी गर्ने खाद्यान्न, तरकारीका गाडीहरुलाई पनि सुरक्षा बैठकको निर्णय नआएसम्म चल्न रोक लगाइएको डिएसपी न्यौपानेले बताए ।

धरानमा बिहान ११ बजे सुरक्षा बैठक बस्दैछ । आजदेखि लकडाउनलाई झन् कडा बनाइएको छ । उपमहानगरपालिकामा हुने बैठकले लकडाउन साथै सुरक्षा रणनीतिबारे निर्णय गर्नेछ । ‘हामीले सबै नाका सिल गरिसकेका छौं,पास भएकाबाहेक कुनै पनि छिर्न दिएका छैनौं,’डिएसपी न्यौपानेले भने,‘धरानभित्र होम डेलिभरि गर्ने खाद्यान्न, तरकारीका गाडीलाई पनि सुरक्षा बैठक नसकेम्म नचलाउन भनेका छौं ।’ डिएसपी न्यौपानेका अनुसार एउटै गाडीमा दुध कलेक्सन गरेर ल्याएमा मात्र प्रवेश गर्न दिइनेछ ।

यसैबीच, लकडाउन उल्लंघन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज दिनभर नियन्त्रणमा राखिनेछ । डिएसपी न्यौपानेका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय परिसरमा रहेको कभर्ड हलमा राखिएको छ ।