धरान: लकडाउनको ३० औं दिनमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले धरानमा लक भएर बसेका ३६ जना विद्यार्थीहरुको उद्दार गरेको छ ।

लकडाउनले धरानमै थुनिएका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई क्याम्पसले उद्दार गरेर घर घरमा पुर्याएको हो । विद्यार्थीहरुलाई घरमा पुर्याउन क्याम्पसका स्वबियु सभापति सौरब सन्जेलसले नेतृत्व गरेर गएका थिए । विद्यार्थीहरुलाई क्याम्पसको गाडी प्रयोग गरेर सुरक्षित तरिकाले घरमा पुर्याइएको सभापति सञ्जेलले जानकारी दिए । विद्यार्थीहरु केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेस्वर क्याम्पसमा अध्ययन हुन् । ती मध्ये १८ जना झापाका विद्यार्थी थिए भने १८ जना इलामका थिए । ‘सबैलाई घरसम्म नै पुर्याइएको हो, झापाको विद्यार्थीलाई घर पुर्याएर अहिले इलाम आइपुगेका छौं,’सञ्जेलले मोवाइल सम्पर्कमा भने ।

hatisar

लकडाउनले बजार, होटल सबै बन्द भएपछि विद्यार्थीहरुलाई खानाको लागि समस्या भइरहेको थियो । सुरुवाती चरणमा खाद्यान्न सहयोग भएपनि लकडाउन अनिश्चितकालसम्म हुने भएपछि विद्यार्थीहरुलाई सुरक्षितरुपमा घर पुर्याउनुको विकल्प नभएको सभापति सञ्जेलले बताए । विद्यार्थी टोलीलाई उर्लाबारीमा एकघण्टा रोकिनु परेको थियो । त्यहाँ सबैको फोन नम्बर संकलन गरेर छुटेपछि झापा र इलाम प्रवेश गर्दा पनि केही समय रोकिनुपरेको थियो । तर, यथार्थ कुरा बताएपछि जान दिइएको केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारका कर्मचारी संघका सभापति टंक कार्कीले बताए ।

hatisar3

लकडाउनले धरानमा थुनिएका विद्यार्थीहरु ३० औं दिनमा घर पुग्न पाउदा औधी खुशी भएका छन् । ‘म बल्ल घर आइपुगेँ, लकडाउनमा निकै समस्या भइरहेको थियो । घरमा आमा, दाजु पनि चिन्तित हुनुहुन्थ्यो,’झापा घर पुगेपछि विद्यार्थी संगीता लिम्बुले भनिन्,‘आज क्याम्पसले हाम्रो उद्दार गर्यो, साँच्चै खुशी छुँ । परिवारमा पनि सबै खुशी हुनुहुन्छ ।’ गाडी चालक किशोर राई पनि लकडाउनले अलपत्र परेका विद्यार्थीहरुलाई घरसम्म पुर्याउन पाउदा आफु भावुक भएको प्रतिक्रिया दिए । ‘सुनौलो भविष्य बोकेका विद्यार्थीहरुलाई घर पुर्याउन पाउदा म खुशी छुँ । परिवारलाई सबै भने, म त ५५ पुगिसके मलाई साना नानिहरुको सारै माया लाग्यो,’उनले भने,‘म जस्तै बाबु आमाहरु कति चिन्तित होला भन्ने सोचे अनि यस्तो परिस्थितिमा पनि म झापा हुदै इलाम सम्म आएँ, म खुशी छुँ ।’

क्याम्पसका निमित्त प्रमुख एवं सहप्राध्यापक डा.दिलकुमार लिम्बुले विद्यार्थीहरुले उद्दार गरेर घर पुर्याउने प्रस्ताव आएपछि प्रशासनसँग समन्वय गरेर पठाइएको बताए । ‘यो हाम्रो दायित्व पनि थियो, त्यसैले आज हाम्रो र अन्य क्याम्पसका विद्यार्थीहरुलाई सुरक्षित तरिकाले घर पठाउन पायौं । हामी क्याम्पस परिवार निकै खुशी छौँ,’डा.लिम्बुले भने ।