धरान: हिजो मात्र भोजपुरको हतुवागढी गाउँपालिकाका एक युवा कोरोना संक्रमित भएको पत्ता लाग्यो । ती युवा धरानमा पनि आएर घुमेका रहेछन् । यसले धरानमा पनि संक्रमणको खतरा जनाउ दिइरहदा आज बिहान ४ वटा बसमा मानिसहरु धरान आइपुगे ।

लकडाउनको कारण काठमाण्डौं तथा उपत्यकामा रोकिएका धरानेहरुलाई धरान उपमहानगरपालिकाको पहलमा ल्याउन थालिएको हो । आफ्ना नागरिकहरुलाई गृहनगरमा ल्याउनु पक्कै पनि राम्रो काम हो, तर यसले कोरोना संक्रमणको जोखिम त निम्त्याइरहेको छैन ? अहिले धरानमा यो प्रश्न पनि उब्जिरहेको छ ।

ktm-dharan1

नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुमा कुनै लक्षण देखिने गरेको छैन । तर, जब ट्राभल हिष्ट्री भएकाको आरडिटी वा पिसिआर परीक्षण हुन्छ, तब मात्र कोरोना संक्रमण भएको पुष्टि हुन्छ । उपत्यकाबाट ल्याइएका मानिसहरुमा पनि कतै कोरोना संक्रमित त छैनन् ? कसैले आफ्नो ट्राभल हिष्ट्री ढाटेर त आएका छैनन् ? भन्ने आशंकाहरु पनि उब्जिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले यसरी आउने व्यक्तिहरु को, कहाँ, के गर्दै थिए भन्ने बुझेर मात्र ल्याउने गरेको बताए । उनीहरुको ट्राभल हिष्ट्री बुझेर जोखिमपुर्ण ठाउँबाट आएको भए अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था भएको र अरुलाई पनि फिवर क्लिनिकमा जाँच गराएर, रेकर्ड राखेर मात्र घर पठाइने गरेको उनले बताए । ‘उनीहरुलाई घरमा रहदा पनि क्लोज अब्जरभेशन गछौं,’प्रजिअ पौडेलले भने ।

ktm-dharan2

धरानका मेयर तिलक राईले पनि लकडाउन बढ्नसक्ने भएकोले विविध कारणले काठमाण्डौंमा बसेका नगरबासीहरुलाई फिर्ता ल्याउनुपर्ने दबाब भएपछि सांसद, प्रशासनसँग छलफल गरेर नै ल्याउने व्यवस्थापन गरिएको बताए । अहिले काठमाण्डौंबाट मानिस धरान ल्याउन नै महत्वपुर्ण भएको भन्दै उनले वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानसँग समन्वय गरेर हिष्ट्री लेखेर, स्वास्थ्य परीक्षण गरेर समस्या देखियो भने अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने नत्र घरमा निगरानीमा रहने व्यवस्था भएकोले जोखिम नहुने बताउछन् ।

काठमाण्डौंबाट मानिसहरु उद्दार गरेर ल्याउन गठन गरिएको समितिका संयोजक एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई(मनोज) तीनकुनेमा गाडीलाई रिसिभ गरेर वीपी प्रतिष्ठान ल्याउने र आवश्यक स्वास्थ्य जाँच भइरहेको बताउँछन् । ‘ट्राभल हिष्टी लिएर, परीक्षण गरेर ठिक छ भने होम क्वारेन्टाइनमा पठाउछौं । काठमाण्डौंभन्दा बाहिरको ठाउँ वा विदेशबाट आएको भए अनिवार्य क्वारेन्टाइनमा पठाउछौं,’उनले भने,‘काठमाण्डौंबाट धरान पठाउने बेला पनि कहाँ बस्ने, को हुन् ? भन्ने कुरा जनप्रतिनिधिसँग समन्वय गरेर ट्राभल हिष्ट्री लिएर मात्र आउछन् ।’

ktm-dharan8

वीपी प्रतिष्ठानका इर्मजेन्सी विभाग प्रमुख एवं कोरोना र्यापिड रेस्पोन्स टिमका सदस्य डा.ज्ञानेन्द्र मल्लले जोखिम न्युनीकरण गर्नको लागि नै स्क्रिनिङ गरेर, फारम भर्न लगाएर मात्र घर पठाउने गरिएको बताए । ‘ट्राभल हिष्ट्री सोधिन्छ । निमानिया जस्तो भएको छ छैन, त्यहीअनुसार क्वारेन्टाइन, आइसोलेसन वा होम क्वारेन्टाइनमा पठाउने निर्णय हुन्छ । यो सब जोखिमबाट जोगाउनकै लागि हो,’डा.मल्लले भने,‘सबैलाई फर्म भर्न लगाइन्छ । सबै मिल्यो भने मात्र होम क्वारेन्टाइन पठाइन्छ । कोही अस्वास्थ्य छ भने हेल्प डेस्कमा थाह भैहाल्छ । सिधै घर गएको भए जोखिम हुन्थ्यो । यस्तो स्क्रिनिङ अझ काठमाण्डौंमा नै भएको भए राम्रो हुन्थ्यो ।’

ktm-dharan4 ktm-dharan5 ktm-dharan7