धरान: लकडाउनको कारण काठमाण्डौंमा अड्किएका धरानेहरुको उद्दार कार्य सकिएको छ । आज अन्तिम दिन २ सय २६ जनालाई ल्याइएसँगै उद्दार कार्य रोकेको उपमहानगरपालिकाले जनाएको छ ।
उद्दार समितिका सदस्य किरण भुजेलका अनुसार तीन दिनमा कुल ४ सय १७ जनाको उद्दा गरिएको छ । पहिलो दिन ३८ जना, दोस्रो दिन १ सय ५७ जना र आज २ सय २६ जनालाई धरान ल्याइएको उनले जानकारी दिए । केही व्यक्ति धनकुटाका पनि आएका थिए । उनीहरुलाई गाडी व्यवस्था गरेर धनकुटा पठाइएको थियो । उद्दार समितिका संयोजक एवं वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भट्टराई(मनोज)का अनुसार काठमाण्डौंबाट उद्दार गर्ने काम सकिएको बताए । ‘धरानको उद्दार गर्नुपर्ने सकियो । स्वास्थ्य परीक्षण गर्दा कसैलाई केही देखिएन । काठमाण्डौंमा नै क्वारेन्टाइनमा बसेर आएको हुनाले डराउनुपर्ने बिषय छैन,’उनले भने,‘सहयोगी सबैलाई धेरै धेरै धन्यवाद ।’
वीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिम(आरआरटि)का सदस्य एवं इर्मजेन्सी विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लका अनुसार काठमाण्डौंबाट ल्याइएकाहरुलाई आज तीनकुनेमा नै ट्रियाज पद्दतीबाट स्वास्थ्य जाँच गरिएको थियो । यो ट्रियाज पद्दती प्रतिष्ठानको इर्मजेन्सीमा अपनाइएको छ ।डा.मल्लका अनुसार इर्मजेन्सी विभागका स्वास्थ्यकर्मीहरु यात्रुहरुको स्वास्थ्य परीक्षणमा खटिएका थिए । उनीहरुले यात्रुहरुमा फिवर छ कि छैन भन्ने जाँच मात्र गरेनन्, उनीहरुको कन्ट्याक्ट र ट्राभल हिष्ट्र सोध्ने र १५ बुँदाको फारम भर्न लगाएर मात्र घर पठाउने गरिएको थियो । ‘काठमाण्डौंबाट एक महिनापछि आएकोले धेरै समस्या छैन । प्रारम्भिक हेर्दा कसैलाई क्वारेन्टाइनमा नै पठाउनुपर्ने देखिएन,’डा.मल्लले भने,‘होम क्वारेन्टाइनमा पठाइएको छ । गाडी दुर्घटना परेका २ जनालाई इर्मजेन्सी पठाइयो ।’
लकडाउनले काठमाण्डौं उपत्यकामा अड्किएका धरानेहरुलाई ल्याउन उपमहानगरले एक समिति गठन गरेको थियो । समितिले धरान सरोकार समाज काठमाण्डौं, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसँगको सहकार्यमा मानिसहरु ल्याएको हो ।