धरान: खानेपानी आयोजनाको म्याद सकिनु अघि एसियाली विकास बैंक(एडिबि)ले भुमिगत पानी उत्पादन बढाउन धरानमा दुई वटा वेल थप गरिदिएको थियो ।

अहिले उक्त दुवै वेल निर्माण भएर भुमिगत पानी बोरिङ गरिएको छ । यी दुई वटा वेलबाट थप भएको पानीले धरानमा खानेपानी अभावलाई सहज बनाउने अपेक्षा गरिएको छ। तत्कालिन कार्यवाहक मेयर रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यी दुई वेलबाट ४० लाख लिटर पानी आयोजनामा थपिने अनुमान गरिएको थियो । धरानबासीलाई पर्याप्त पानी होस् भनेर नै यी वेल थप गरिएको उनको भनाई छ । ‘विजयपुरमा रिजर्ब वेयर बन्न पाएन । संस्थानसँग इन्टरकनेक्सन पनि हुन पाएको छैन । नगरबासीलाई सहजरुपमा पानी दिलाउनुपर्छ भनेर नै यो विकल्प रोजेका हौं,’उपमेयर भण्डारीले भनिन् ।

संस्थान तत्काल मर्ज हुन नपाउदा पनि नगरबासीलाई सहजरुपमा पानी खुवाउन दुई वटा वेल थपिएको उनको भनाई छ । आफुले ३ वटा वेल थप गर्न प्रस्ताव गरेपनि एडिबिले स्थलगत अध्ययन पश्चात २ वटा स्वीकृति दिएको उनले बताइन् । ‘एडिबिसँग अनुरोध गरेको थिएँ, उहाँहरुले पनि ठिकै हो भन्ने महशुस गर्नुभयो, र फिल्ड पनि आएर हेरे पछि पानी आउने सम्भावनाको एरियामा २ वटा स्वीकृति दिनुभयो,’उपमेयर भण्डारीले भनिन् ।

water-well-1

नयाँ थप गरिएको वेलको अनुगमन गर्दै सर्वदलीय टोली ।

खानेपानी आयोजनाको म्याद सकिसकेको छ । यसअघि संस्थान मर्ज भइसके पछि आयोजना पुर्णरुपमा सञ्चालन हुँदा १ करोड ५२ लाख लिटर पानी उत्पादन एवं वितरण हुने भनिएको थियो । अब दुई वटा वेल थपिदा करिब १ करोड ९२ लाख लिटर पानी उत्पादन हुने अनुमान छ ।

आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलका अनुसार सेन्ट्रल सिस्टामा २ वटा वेल थपिएर ६ वटा पुगेको छ । आयोजना आयोजना सकिने अन्तिम समयमा एडिबिले २ वटा वेल निर्माण गर्न सहमति दिएपछि नयाँ ठेकेदारबाट २ वटा वेल निर्माण भएको उनले बताए । ‘अहिले वेल सञ्चालन आएको छैन । माथिल्लोबाट २० लिटर प्रतिसेकेण्ड र तल्लो २५ लिटर प्रतिसेकेण्ड मापन भएको छ । अझै कति उत्पादन हुन्छ भन्ने यकिन भइसकेको छैन,’पोख्रेलले भने ।