धरान: अनुमति विना खुलेको र तोकेको मुल्यभन्दा तेब्बर मुल्यमा तरकारी बिक्री गर्ने व्यापारीलाई कारबाही स्वरुप ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।
अनुगमन समितिकी संयोजक एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार साँझ धरान १३ स्थित कृषि बजारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनुगमन समितिले धरान १६, भिमसेन पथका व्यापारी सन्तोष साहले उपमहानगर र कृषि बजारले तोकेको खुद्रा मुल्यभन्दा तेब्बर बढी मुल्यमा उपभोक्तालाई बिक्री गरेको फेला परेपछि २ सय किलो तरकारी जफत गरेको थियो । सोही बिषयमा साँझ सम्बन्धित व्यापारी साहसहित बैठक बसेको थियो ।
बैठकमा व्यापारी साहले आफुलाई मुल्य सुचीबारे थाह नभएको भन्दै माफीसमेत मागेका थिए । यद्यपी, अन्य थोक(होलसेल) व्यापारीहरुले उनलाई मुल्यबारे सबै थाह भएको र कालोबजारी गरेको निष्कर्ष निकालेपछि उपमेयर एवं अनुगमन समितिकी संयोजक भण्डारीले ५ हजार जरिवानाको प्रस्ताव गरेकी थिइन् । उनको प्रस्ताव अनुसार नै कालोबजारी गरेको ठहर गर्दै बैठकले व्यापारी साहलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
उपमेयर भण्डारीले वडा कार्यालयबाट स्वीकृति नदिएको पसलहरुलाई कृषि बजारले पनि तरकारी बिक्री नगर्न कडा निर्देशन पनि दिइन् । 'यो बेला धेरै नाफा मात्र खोज्ने होइन, सहजरुपमा तरकारी जनताको घरमा पुर्याउने र किसानहरुको तरकारी बारीमा कुहिने अवस्था नहोस् भनेर ख्याल गर्ने बेला हो,'उनले भनिन्,'यो बेला पनि कालोबजारी हुनु क्षम्य अपराध होइन ।'
बैठकले व्यापारी साहले जरिवाना तिरेपछि मात्र उनको तरकारी फिर्ता गर्ने निर्णय गरेको छ । व्यापारी साहको भिमसेन पथमा ठुलो किराना पसल पनि छ । उनले सोही पसलमा अनुमति पनि नलिई तरकारी पनि बिक्री गरिरहेको अनुगमनको क्रममा खुलेको थियो । आज दिउँसो नगरस्तरीय अनुगमन समितिका सहसंयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा तरकारी पसलको अनुगमन गरिएको थियो ।