धरान: तरकारी पसलहरुको अनुगमन गर्ने क्रममा अनुमति विना सञ्चालनमा आएको एक पसलले तोकिएको भन्दा अत्यधिक मुल्यमा बिक्री गरिरहेको पाइए पनि तरकारी जफत गरिएको छ ।
नगरस्तरीय अनुगमन समितिले अनुगमनको क्रममा धरान १६ स्थित एक पसलबाट अत्यधिक मुल्यमा बिक्री गर्ने गरेको पाइएपछि जफत गरेको हो । अनुगमन समितिका सहसंयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार सन्तोष साहको पसलबाट करिब २ सय किलो(२ क्विन्टलं तरकारी जफत गरिएको हो । वडा कार्यालयबाट स्वीकृति तथा पास पनि नलिएको र तोकिएको भन्दा तेब्बर बढी मुल्यमा बिक्री गरेको भेटिएपछि तरकारी जफत गरिएको सहसंयोजक काफ्लेले जानकारी दिए । ‘कृषि बजारले पसलहरुको लागि खुद्रा मुल्य तोकेको छ, त्यहाँ तेब्बर मुल्यमा बिक्री गरिरहेको रहेछ,’अध्यक्ष एवं सहसंयोजक काफ्लेले भने,‘मुल्य सुची पनि थिएन, वडाले स्वीकृति दिएको पनि छैन, र पास पनि थिएन ।’
उक्त तरकारी पसलले २ रुपैयामा बेच्नुपर्ने साग ३० रुपैयामा बिक्री गरेको थियो भने काउली ५० मा बेच्नुपर्नेमा ८० रुपैयामा बिक्री गरिरहेको थियो । यस्तै, टमटर पाकेको २० रुपैयामा बेच्नुपर्नेमा ४५ रुपैयामा, ताजा ३० मा बेच्नुपर्नेमा ४५ रुपैयामा बिक्री गरिरहेको थियो । यस्तै, काक्रा बढीमा २५ रुपैयामा बेच्नुपर्नेमा प्रतिकिलो ४५ मा बेचिरहेका थिए । यसैगरि, तितेकरेला खुद्रामा सय रुपैया किलोमा बेच्नुपर्नेमा १ सय ४० रुपैयामा बेचिरहेका थिए । सम्झाउदा पनि उल्टै कस्ले के गर्छ भन्न थालेपछि नगर प्रहरीले तरकारी जफत गरेर सभागृहमा राखेको सहसंयोजक काफ्लेले बताए ।
यस्तै, वडा नं ९ मा बिक्री गर्नको लागि स्वीकृति लिएको एउटा टेम्पो पनि वडा नं १६ मा पुगेको पाइए पनि नियन्त्रणमा लिएको वडाअध्यक्ष काफ्लेले जानकारी दिए । टेम्पोमा खर्बुजा बिक्री गरिरहेका थिए । अनुगमन सहसंयोजक काफेलेका अनुसार स्वीकृति लिएर खुलेका थुप्रै तरकारी पसलहरुलाई सचेत पनि गराइएको छ ।