धरान: महंगो मुल्यमा खाद्य सामग्री बिक्री गरेको उजुरी परेपछि धरान उपमहानगरपालिका मातहतको अनुगमन समितिले पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेतृत्वमा समितिले अनुगमन गरेको हो । सबैभन्दा शुरुमा वडा न. ९, आचार्यलाइनस्थित विनोद साहको पसलमा समितिले अनुगमन गरेको थियो । उपमेयर एवं संयोजक भण्डारीका अनुसार ९ नम्बर वडा कार्यालयमा बढी मुल्यमा खाद्यान्न बिक्री गरेको उजुरी परेको थियो । सोही उजुरीबारे वडाअध्यक्षले जानकारी गराएपछि साहको पसलमा अनुगमन गर्न गएको उनले बताइन् ।
पसल सञ्चालकले आफुहरुले बढी मुल्यमा बिक्री नगरेको जिकिर गरेका थिए । प्रमाणसहित आए आफुहरु कारबाही भोग्न तयार रहेको उनीहरुको भनाई थियो । उपमेयर भण्डारीका अनुसार उक्त पसलमा सामान खरीद गरेको र बिक्री गरेको मुल्यको रेकर्ड पनि नभएको बताइन् । उजुरी गर्ने उपभोक्ता पनि पछि छरछिमेकी नै नभएकोले सम्पर्कमा आउन नचाहेकोले पछि सचेत गराएर एक पटकलाई छोडिदिएको उनले बताइन् । ‘वडाअध्यक्षलाई सबै पसलहरुमा मुल्य सुची राखिनुपर्छ, र खरीद मुल्य र बिक्री मुल्यको रेकर्ड राखेर बिक्री बितरण गर्न अनुरोधसहितको सचेतना पत्र पठाउनुस् भनेको छुँ,’उनले भनिन्,‘लकडाउनको बेला कमाउने होइन, सेवा पनि गर्ने हो । थोरै मात्र नाफा लिएर व्यापार गर्नुपर्छ । हामी पनि उहाँहरुलाई हतोत्साहित गर्न चाहदैनौं ।’
५० पर्ने गुट्खा ९० मा बिक्री
अनुगमन समितिले धरानको वडा नं १२ मा गीता मन्दिर लाइनमा विजय साहको खाद्यान्न गोदाममा पनि अनुगमन गरेको थियो । त्यहाँ उनले अनधिकृतरुपमा कागती, हरियो तरकारीहरु पनि बिक्री गरिरहेको भेटिएको थियो । वडा कार्यालयबाट सिफारिश विना नै तरकारी बिक्री गरिरहेको मात्र होइन, गुट्खा आइटममा पनि उनले अत्यधिक मुल्य लिएर बिक्री गरेको भेटिए पछि बिहिबार बिहान उपमाहनगरपालिकामा स्पष्टीकरणको लागि उपस्थित हुन निर्देशन दिइएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । ‘तरकारी सिफारिश लिएर मात्र बिक्री गर्न पाइन्छ । लुकाएर बेचिरहेका छ । गुट्खा आइटम ५० पर्ने ९० मा बेच्दो रहेछ । स्पष्टीकरण दिन नगरपालिका आउनुपर्छ, भोली उपस्थित हुन भनेका छौं,’उनले भने ।