धरान: कालोबजारीलाई प्रश्रय हुने गरी अनुगमन समितिको निर्देशन अटेर गर्दै अनधिकृतरुपमा तरकारी बिक्री गर्ने गाडी र चालकलाई २५ सय जरिवाना तिराइएको छ ।
आज बिहान धरान १६ बाट नियन्त्रणमा लिइएको को १ ख ४३९९ नम्बरको तरकारी गाडीलाई जरिवाना तिराएर छोडिएको हो । कृषि बजारमा उपमेयर तथा अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको तरकारी अनुगमन समितिको बैठकले यो निर्णय गरेको उपमहानगरपालिकाको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘फेरि पनि गल्ती दोहोर्याए गाडी नै नियन्त्रणमा राख्ने निर्णय पनि भएको छ,’उनले भने ।
अनुगमन समितिका अनुसार हिजो राती तीनकुने चेकपोष्टमा अनुगमनको क्रममा यो गाडीलाई कृषि बजारमा इन्ट्री गर्न भनेर पठाइएको थियो । यो गाडी धरान १५ का व्यापारी मनोज श्रेष्ठको हो । तर, गाडी चालक रवि तामाङले कृषि बजारमा इन्ट्री नगरी धरान १६ मा अनुमति नलिएका पसलहरुमा तरकारी बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । ‘वडा कार्यालयबाट अनुमति नलिएको पसलमा मुल्य तोकिएको सुची पनि हुदैन, त्यसले गर्दा जथाभावी मुल्यमा तरकारी बिक्री हुन्छ,’अधिकृत सापकोटाले भने,‘यसले कालोबजारीलाई प्रसय हुन्छ । त्यसैले कारबाही गरिएको हो ।’