धरान: गुट्खामा कालोबजारी गरेको तथा अनधिकृतरुपमा तरकारी बिक्री गरेका खाद्यान्नको होलसेल पसललाई ५ हजार जरिवाना तिराईएको छ ।
धरान १२ स्थित गितामन्दिर लाइनमा खाद्यान्नको होलसेल पसल रहेको विजय साहलाई धरान उपमहानगरपालिकाले जरिवाना तिराएको हो । हिजो अनुगमनको क्रममा अनधिकृतरुपमा उनले तरकारी बिक्री गरिरहेको भेटिएको थियो भने ५० रुपैया पर्ने गुट्खालाई ९० रुपैयामा बेचेको पनि पाइएको थियो । ‘आज बैठक बसेर अनधिकृतरुपमा तरकारी बेचेको र ५० पर्ने गुट्खालाई ९० मा बेचेकोले ५ हजार जरिवाना तिराइयो,’अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भने ।
खाद्यान्नको होलसेल पसल भएपनि उनले त्यहीबाट तरकारी पनि बिक्री गरिरहेका थिए । अहिले लकडाउनको बेला वडा कार्यालयबाट सिफारिश विना तरकारी बेच्न पाइदैन । हिजो अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा बजार अनुगमनको क्रममा उनको पसलमा टोली पुगेको थियो । उनले अत्यधिक मुल्यमा गुट्खालगायत बिक्री गरेको उजुरी पछि पसलमा अनुगमन भएको थियो ।