धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट ७ करोड ६५ लाख बढी क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।
क्षति विवरण संकलन गर्न बनेको समितिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको विवरण संकलन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार क्षतिको यो विवरण प्रारम्भिक हो । विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ । ‘क्षतिको यो विवरण प्रारम्भिक हो । संस्थागत तर्फ विभिन्न संघसंस्थाहरुको सम्पत्ति क्षति पुगेको समेटिएको हो,’प्रजिअ निरौलाले भने ।
प्रजिअ निरौलाका अनुसार आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर हो । आगलागीबाट कुल २९ घर परिवार प्रभावित हुन पुगेको पनि प्रजिअ निरौलाले बताए । यसअघि ३३ घरपरिवार प्रभावित भएको भनिए पनि क्षति विवरण संकलन समितिबाट २९ परिवार प्रभावित हुन पुगेको विवरण आएको उनले बताए ।
आगलागीबाट प्रभावित परिवारलाई रेडक्रस सोसाइटी र फुङलिङ नगरपालिकाले आवश्यक राहत पनि वितरण गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रजिअ निरौलाका अनुसार रेडक्रसले २३ घर परिवारलाई आवश्यक ओढ्ने, ओछ्ढाउने, भाडाकुडालगायतको सामग्री प्रदान गरेको छ भने नगरपालिकाले २२ घरपरिवारलाई आवश्यक खाद्यान्न वितरण गरेको पनि प्रजिअ निरौलाले जानकारी दिए ।
यस्तै, कञ्चनजंघा सामुदायिक सहकारीले आफ्ना ५ सदस्यलाई ३ हजारको दरले नगद विरतण गरेको छ भने ताप्लेजुङ बहुउद्देश्यीय सहकारीले आफ्ना २१ जना सदस्यलाई २ हजारको दरले नगद राहत वितरण गरेका प्रजिअ निरौलाले जानकारी दिए । फुङलिङको पुरानो बैकलाइन ट्याक्सी स्टेण्डमा राती करिब १० बजेबाट आगलागी शुरु भएको थियो । राती २ बजे आगो नियन्त्रणमा आएको र बिहान ५ बजे पुर्णरुपमा नियन्त्रणमा आएको पनि प्रजिअ निरौलाले जानकारी दिए ।