धरान ः वडा कार्यालयबाट अनुमति लिएर बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने धरानका खाद्यान्न पसलहरुको लागि खाद्यान्नको खुद्रा दररेट सार्वजनिक गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउमा एकरुपता कायम गराउन भोली मंगलबारदेखि लागु हुने गरी खुद्रा दररेट तयार सार्वजनिक गरेको हो । व्यवसायीहरुले आफुखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो भएकोले दररेटमा रुकरुपता ल्याउन यो कदम चालिएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष्ँ तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए । उनका अनुसार खाद्यान्नहरुको थोक(होलसेल) मूल्यमा उतारचढाव आएमा मूल्यसुचीमा पनि हेरफेर हुन सक्नेछ छ ।

व्यवसायीहरुले यो भाउ अनुसार बिक्री वितरण नगरेमा उपभोक्ताहरुले सुनसरी उद्योग वाणिज्य संघमा सिधै खबर गर्न सक्ने पनि संघले जनाएको छ । गुनासो वा उजुरी गर्नको लागि महासचिव राजेश अग्रवाललाई ९८५२०४७४८४ र अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठलाई ९८५२०४५४५९ मा सिधै सम्पर्क गर्न सकिने कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।  बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यँन्न पसल खोल्न दिने सहमति भएपछि संघले विभिन्न ८ वटा सर्तहरु पनि तयार गरेको छ । ती सर्तहरु पालना नगरे खाद्यान्न पसल खोल्न पाइनेछैन । सर्त तथा मापदण्डहरु पालना भए नभएको अनुगमन गर्न पदाधिकारी र सदस्यहरुलाई धरानको २० वटै वडाहरुमा समन्वय गर्न पनि संघले खटाइसकेको छ ।

Rate---Baisakh-23 1

के छ ? शर्तहरु :

धरान उपमहानगरपालिकामा सम्पन्न बैठकले हालै लकडाउनको क्रममा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न धरान भरिका खाद्यान्न पसलहरु बिहान ६ः०० देखि ९ बजेसम्म खोल्ने भन्ने निर्णयअनुसार पसल खोल्दा निम्नानुसारको नियमहरु समेत परिपत्र गराईदिनुहुन सादर अनुरोध गर्दछौं ।

१) हरेक प्रोप्राईटरले पसल खोल्न वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।
२) सुनसरी उद्योग वाणिज्य संघबाट उपलब्ध गराईएको मूल्य सुचि लिई अनिवार्य रुपमा सबैले देख्नेगरि राख्नुपर्नेछ ।
३) पसल भित्र भिडभाड नहोस् भन्ने हेतुले पसल अगाडि डोरी लगाई पसल भित्र जान रोक लगाउनु पर्नेछ ।
४) पसलमा सामाजिक दुरी (१ मिटर) कायम गर्नुपर्नेछ ।
५) पसलमा बस्ने व्यवसायी र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने छ ।
६) पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्नुपर्नेछ ।
७) पैसाको कारोबार गरिसकेपछि सेनिटाईजर प्रयोग गर्नुपर्नेछ ।
८) गुणस्तरीय र म्याद नगुज्रिएका खाद्य वस्तुमात्र बिक्री गर्नुपर्नेछ ।