धरान: लकडाउनको बेला दैनिक उपभोग्य वस्तुलाई सहज आपूर्ति गर्न बिहान ६ बजेदेखि ९ बजेसम्म धरानमा खाद्यान्न पसल खोल्न दिइएको छ । तर, ती खाद्यान्न पसलहरु जथाभावीरुपमा खोल्न भने पाइनेछैन ।

खाद्यान्न पसलहरु खोल्नको लागि व्यवसायीले विभिन्न ८ सर्तहरु पालना गर्नुपर्ने सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । ती सर्तहरु संघले धरान उपमहानगरपालिकामार्फत सबै वडा कार्यालयमा पठाइसकेको छ । ती ८ सर्त पालाना नगर्ने पसलहरुलाई खोल्न दिइने छैन । सर्तहरु पालना भए नभएको अनुमगन गर्न र आपूर्ति सहज बनाउनको लागि वडा कार्यालयसँग समन्वय गर्न संघले सबै २० वटा वडामा आफ्ना पदाधिकारी तथा सदस्यहरुलाई पनि जिम्मेवारी दिएर खटाउने निर्णय पनि गरेको बजार अनुगमन तथा खाद्यान्न आपूर्ति समन्वय समितिका संयोजकसमेत रहेका संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । ‘हामीले आज व्यवसायीहरुले पालना गर्नुपर्ने सर्तहरु उपमहागनरपालिकालाई वडाहरुमा परिपत्र गरिदिन भनेर पठाएका छौं,’उपाध्यक्ष श्रेष्ठले भने,‘अनुगमन र समन्वय गर्न सबै वडाहरुको लागि पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी दिएर खटाएका छौं ।’

udyog

संघका अनुसार पसल खोल्न अनिवार्य वडा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ भने संघले उपलब्ध गराएको मुल्य सुची लिएर अनिवार्य सबैले देख्ने गरी राख्नुपर्नेछ । पसल भित्र भिडभाड हुन नदिन पसल अगाडि डोरी लगाएर भित्र जानबाट रोक लगाउनुपर्नेछ भने १ मिटरको सामाजिक दुरी कायम गर्नुपर्नेछ । यस्तै, पसलमा बस्ने व्यवसायी र कर्मचारीले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ भने पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्नुपर्नेछ । यस्तै, पैसाको कारोबार गरिसके पछि सेनिटाइजर प्रयोग गर्नुपर्ने, गुणस्तरीय र म्याद नगुज्रिएको खाद्य बस्तु मात्र बिक्री गर्नुपर्ने सर्त रहेको छ ।

udhyog1