धरान: लकडाउन शुरु भएसँगै झण्डै डेढ महिनादेखि विकास निर्माणको कामहरु ठप्प थिए । तर, अहिले धरानलगायत देशभरका गौरवको आयोजना तथा महत्वपुर्ण विकासका कामहरु शुरु भएको छ ।

आर्थिक बर्ष सकिन लाग्दा थुप्रै आयोजना तथा विकासका कामहरु नहुदा बजेट फ्रिज हुने सम्भावना पनि भएकोले तीनै तहका सरकारलाई विकास निर्माणको काम अघि बढाउनुपर्ने बाध्यता पनि थियो । सरकारले नै सामाजिक दुरी कायम राख्दै, सिमित कमदार संख्या र आवश्यक सुरक्षा उपाय अपनाउदै कामहरु सुचारु गर्ने निर्णय पनि गरिसकेको छ । धरानमा पनि कोशी राजमार्गको मर्मत, ड्रेन र नगर गौरवको आयोजनालगायत महत्वपुर्ण विकासे कामहरु शुरु भइसकेको छ ।

deshi-line-road

धरान उपमहानगरका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार टेण्डर भइसकेका नगर गौरवका आयोजनाहरु र ७० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको योजनाहरुको काम शुरु भएको बताउँछन् । वडागत कामहरु धेरै अघि बढेको भएपछि नगर गौरवको आयोजनाहरु भने डिपिआर बनाउनुपर्ने प्रक्रियाले गर्दा लकडाउनअघि प्रगति हुन सकेको थिएन । ‘नगर गौरवको आयोजनामा डिपिआर तयार गर्नुपर्ने र टेण्डर प्रोसेस गर्नुपर्ने हुन्छ । ३, ४ वटाको त काम नै शुरु भइसकेको छ । अन्यको पनि डिपिआर तयार भइसकोके छ, टेण्डर प्रोसेस गर्न लाग्दा लकडाउनले रोकियो । तर अब टेण्डर प्रोसेस हुन्छ,’श्रेष्ठले भने,‘ यो बर्षमा नगर गौरवको आयोजनाहरुको निर्माण कार्य नै शुरु नहोला, तर टेण्डरको काम हुन्छ । वडागत कार्यक्रमहरुको प्रगति धेरै भइसकेकोले रोकिदैन होला ।’

पहिलो चरणमा नेपाल सरकार र प्रदेश सरकारको सहयोगमा सञ्चालित र फ्रिज भएर पैसा फिर्ता जान सक्ने कार्यक्रम, खोला नालासँग सम्बन्धित कामहरु अघि बढाउने इञ्जिनियर श्रेष्ठले बताए । भौतिक प्रगति ७० प्रतिशत माथि भइसकेकोलाई अघि बढाउने उनले बताए । धरानका मेयर तिलक राईले ५० प्रतिशत भन्दा बढी योजनाहरु कटौती हुने बताए । योजना कटौटी गरेर बजेट राहततर्फ खर्च गर्नुपर्ने भएकोले योजनाका कामहरु प्रभावित हुने उनले बताए ।