धरान: लकडाउनले समस्यामा परेका धरानका विपन्न परिवारलाई राहतको लागि हङकङमा रहेका धरानबासीहरुले खाद्यान्न सहयोग गरेका छन् ।

धरान हङकङ मञ्चको पहलमा संकलन भएको ६ लाख बराबरको राहत सहयोग भएको हो । त्यसमध्ये ५ लाख बराबरको १० हजार ५ सय २६ किलो चामल फुड बैंकमा हस्तान्तरण गरिएको छ भने १ लाख बराबरको २ हजार १ सय ५ केजी चामल सडकबाट उद्दार गरेर लांघाली वन समुहको आवास गृहमा राखिएकाहरुको लागि प्रदान गरिएको छ । बुधबार सभागृहमा धरान हङकङ मञ्चका प्रतिनिधि पर्शुराम राईले धरानका मेयर तिलक राईलाई चामल हस्तान्तरण गरेका थिए ।

dharan-Hk-Man

धरान हङकङ मञ्चले धरान १७ समाज हङकङ, धरान १० समाज हङकङ, धरान ८ समाज हङकङ, जीवन यात्रा समाज हङकङ, धरान युथ एशोसिएशन हङकङ र धरान फुटबल क्लब हङकङको सहयोगमा राहत हस्तान्तरण गरिएको जनाएको छ । मञ्चका प्रतिनिधि राईले धरानको दुःख सुखमा हङकङमा रहेका धरानेहरुले सधै साथ दिदै आएको भन्दै थोरै भएपनि कोरोना महामारीको बेला सहयोग गरेको बताए । हङकङमा पनि कोरोनाले प्रभाव पारेको र जागिर नभएको बेला पनि आफ्नो थलो धरानलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको उनले जानकारी दिए ।

धरानका मेयर तिलक राईले भविष्यमा पनि सहयोग पाउने विश्वास व्यक्त गर्दै हङकङमा रहेका धरानबासीहरुलाई धन्यवाद व्यक्त गरे । आफ्नो जन्मथलो, मातृभुमीलाई सम्झिएको भन्दै आभार प्रकट गरे । हस्तान्तरण कार्यक्रममा उपमेयर मञ्जु भण्डारी सुवेदी, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, पुर्वउपमेयर मीनकुमार सुब्बा, डिएसपी ढुण्डीराज न्यौपाने, वडा १८ का अध्यक्ष प्रविण राई, एन्फा प्रदेश १ अध्यक्ष किसोर राई, लक्ष्मण बस्नेतलगायतको उपस्थिति रहेको थियो ।