धरान: लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले दुई चरणमा गरेर २ करोड बढीको राहत वितरण गरिसकेको छ ।
आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैया बराबरको राहत प्याकेज विरतण भएको मेयर तिलक राईले जानकारी दिएका छन् । यस्तै, दोस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड २४ लाख ७१ हजार ३ सय बराबरको राहत विरतण गरेको मेयर राईले बताए । उपमहानगरपालिकाले फुड बैंकमा जम्मा भएको खाद्यान्न वडा कार्यालयमार्फत टोल विकास संस्थालाई राहतको लागि नामावली संकलन र वितरणको जिम्मा दिएको थियो ।
धरानमा पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल वितरण भएको थियो भने दाल ६ हजार २ रय २५ केजी, नुन ९ हजार ३६ केजी, तेल ९ हजार ३६ लिटर, आलु ३५ हजार ७ सय ४४ किलो साबुन ६३.६६ कार्टुन र न्युटेला २८ सय ११ केजी वितरण गरिएको मेयर राईले बताए । दोस्रो चरणको राहतमा चामल २ लाख ६ हजार १ सय २० किलो, दाल ५ हजार ४ सय ६५ किलो, नुन २० हजार २९ किलो वितरण भएको थियो भने तेल २० हजार २९ लिटर र न्युटेला ७ हजार ५ सय ७४ किलो वितरण भएको थियो ।
दोस्रो चरणको राहतमा आलु र साबुन वितरण गरिएको थिएन । वडाका विपन्न परिवारलाई बाहेक आश्रम र सडक मानवको लागि ८ सय किलो चामल, ९३ किलो दाल, ६० किलो नुन, ८९ लिटर तेल, २ सय ७० किलो आलु, ६५ किलो न्युटेला र २० किलो प्याज पनि वितरण गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
राहतको खाद्यान्न खरीदको भुक्तानी गर्न बजेट अभाव
उपमहानगरका अनुसार पहिलो र दोस्रो चरणको राहतको २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको खाद्यान्न खरीद गरिएको थियो । तर, उपमहानगरपालिकाले बजेट अभावमा सबै रकम भुक्तानी गर्न सकेको छैन । दोस्रो चरणकसम्मको राहतको भुक्तानी गर्न ६४ लाख १६ हजार ३ सय ८१ रुपैया अझै बाँकी रहेको मेयर राईले जानकारी दिए ।
बिहिबारदेखि तेस्रो चरणको राहत वितरण हुने
मेयर राईले भोली बिहिबारदेखि धरानमा तेस्रो चरणको राहत वितरण शुरु गर्ने पनि जानकारी दिएका छन् । वडा कार्यालयहरुको सुझाव र आर्थिक अवस्थालाई ख्याल गर्दै तेस्रो चरणमा चामल र मुसुरी दाल मात्र वितरण गरिने पनि उनले बताए । उपमहानगरपालिकाको फुड बैंकबाट वडा कार्यालयलाई राहत दिइनेछ, र वडाले आफ्नो समय अनुकुल बनाएर वितरण गर्नेछ ।
तेस्रो चरणमा पनि २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैया बराबरको राहत विरतण गरिने उपमहानगरले जनाएको छ । तेस्रो चरणको राहतको लागि ९६ लाख बराबरको चामल(सोना मन्सुली) २ लाख किलो र १७ लाख ३४ हजार बराबरको मुसुरी दाल १७ हजार किलो खरीद गरिएको पनि मेयर राईले जानकारी दिए ।
फुड बैंकमा ९७ दाताले राहत दिए
उपमहानगरपालिकाका अनुसार धरान ८ स्थित सभागृहमा स्थापना गरिएको फुड बैंकमा ९७ दाताहरुले खाद्यान्न सामग्री सहयोग गरेका छन् । दाताहरुबाट ५८ हजार ४ सय २५ किलो चामल, ६ हजार २ सय १ किलो दाल, ५ हजार ९ सय ३५ किलो नुन, ३ हजार ९ सय ४१ लिटर तेल, ४ हजार २ सय ८५ किलो आलु, ९ कार्टुन साबुन, ४५ किलो न्युटेला र २० केजी प्याज फुड बैंकलाई उपलब्ध भएको मेयर राईले जानकारी दिए ।
राहत कोषमा १ करोड ४२ लाख बढी रकम जम्मा
उपमहानगरले राहत वितरणको लागि राष्ट्रिय वाणिज्य बैंकमा कोरोना राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा उपमहानगरपालिकाले बजेट रकमान्तर गर्नुका साथै जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, व्यक्तिहरुले रकम जम्मा गरेका थिए । कोषमा हालसम्म १ करोड ४२ लाख ६२ हजार ७ सय ७४ रुपैया जम्मा भएको मेयर राईले जानकारी दिए ।
कोषमा उपमहानगरपालिकाले ७५ लाख रुपैया रकमान्तर गरेर जम्मा गरेको जनाएको छ भने जनप्रतिनिधिहरुले ७ लाख ५७ हजार रुपैया जम्मा गरेका थिए । यस्तै, कर्मचारीहरुले १० लाख १२ हजार ४ सय २२ रुपैया जम्मा गरेका थिए भने प्रदेश सरकारबाट १५ लाख रुपैया आएको थियो । विभिन्न दाताहरुले ३४ लाख ९३ हजार ३ सय ५२ रुपैया जम्मा गरेका थिए ।
राहतको लागि सहयोगको अपिल
मेयर राईले राहत वितरणको लागि अझै सहयोगको आवश्यकता भएकोले दाताहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् । राहतको लागि खरीद गरेको खाद्यान्नको भुक्तानी गर्न पनि समस्या भइरहेको भन्दै राहत कोषमा नगद तथा फुड बैंकमा जिन्सी सामग्री सहयोग गर्न मेयर राईले दाताहरुलाई अनुरोध गरेका छन् । दाताहरुबाट यसअघि पनि नगद तथा जिन्सी सहयोग भएको तर पर्याप्त नभएको र लकडाउन अझै जारी रहने संकेत देखिएकोले राहत विरतण गर्नलाई अझै सहयोगको खाँचो रहेकोले आर्थिक तथा जिन्सी सामग्री प्रदान गर्न आह्वान गरेका छन् ।